गगनलाई गृहमन्त्री लामिछानेको चुनौति : काठमाडौं ४ मा बोलाउनुस्, बहस गर्न तयार छु

‘झण्डा हल्लाउँदै अख्तियारमा बयान दिनेले नै मेरो राजीनामा माग्दै रोष्टम घेरे’


१० चैत्र २०८०, शनिबार
Rabi 1

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग्दैमा राजीनामा नदिने बताएका छन् । बरु कांग्रेसका नेताहरुले बोलाएको ठाउँमा गएर सहकारीको अनियमितताबारे बहस गर्न आफू तयार रहेको बताएका छन् ।

गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसको गतिविधि देखेर आफू छक्क परेको समेत बताए । नेपालको राजनीतिमा ७० वर्षको इतिहास बोकेको राजनीतिक दलको पछिल्लो गतिविधि देखेर छक्क परेको उनले बताएका हुन् । ‘अस्तिसम्म झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जाने मन्त्री बोकेको कांग्रेस’ उनले भने, ‘आज कसैले दिएको बिना प्रमाणको उजुरीलाई लिएर राजीनामा मागिँदैछ ।’ उनले भने, ‘उही झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जाने सांसद नै मेरो राजीनामा माग्दै आएको देखिन्छ ।’

उनले आफू सरकारमा बस्दासम्म नैतिकता नचाहिने र अख्तियारले बयान माग्दा कांग्रेसले आफ्ना मन्त्रीलाई सरकारबाट निकाल्न नसकेको समेत आरोप लगाए । लामिछानेले अख्तियारको फन्दामा परेका ती मन्त्रीलाई प्रधानमन्त्रीले निकाल्नु परेको बताउँदै भने, ‘संसदमा मेरो जवाफलाई सुन्ने धैर्यता पनि प्रतिपक्षीले लिएन ।’ यस्तै संसदमा बोल्न नदिएको कांग्रेसलाई गृहमन्त्री लामिछानेले खुला स्थानमा बहस गर्न तयार रहेको समेत बताए । ‘समितिमा र संसदमा बोल्न दिनु भएन,’ उनले भने, ‘तर, तपाईंले रोजेको स्थानमा तपाईंका छानिएका व्यक्तिहरू राखेर मलाई बोलाउनु होला । म एक्लै आउँछु ।’

यस्तै रवि लामिछानेसँग नेपाली कांग्रेसले लिने बयान वा बहस काठमाडौँ क्षेत्र नम्बर ४ मा गरिनुपर्ने माग समेत राखे । यो क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको क्षेत्र हो । त्यसैले सोही क्षेत्रमा कांग्रेसले बहसको आयोजना गरेर आफूलाई बोलाएमा उत्तम हुने लामिछानेको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७