नयाँ सत्ता समीकरणपछि पहिलो पटक संवैधानिक परिषद्को बैठक बस्दै


१८ चैत्र २०८०, आईतवार
prachanda 1 2

काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज (आइतबार) बस्दैछ । बैठक आइतबार बिहान ९ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संविधानको धारा २८३ अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीले परिषद् बैठक बोलाएका हुन् ।

एक साताअघि नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकोले बैठक आजका लागि सारिएको थियो । आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आजको बैठकका एजेण्डाका विषयमा छलफल गरेका छन् । नयाँ सत्ता समीकरण बनेपछि शनिबार पहिलो पटक ओली र देउवा एकैसाथ प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन् । एमालेसहितको गठबन्धन बनेपछि पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुख पदाधिकारी रहने संवैधानिक परिषद्मा सत्ता समीकरण फेरिएसँगै शक्ति संरचना पनि फेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७