कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने


२७ चैत्र २०८०, मंगलवार
bishnudevi pudasaini 1712636096

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । आज (मंगलबार) बसेको कांग्रेस संसदीय दल कार्य समिति बैठकले पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका एक सांसदले जानकारी दिए ।

माघमा भएको राष्ट्रियसभा निर्वाचनमा पुडासैनी निर्वाचित भएकी थिइन् । महिला क्लस्टरका सात जनामध्ये वाग्मती प्रदेशबाट पुडासैनी निर्वाचित भएकी हुन् । करिब पाँच दशक सक्रिय राजनीतिमा बिताएकी पुडासैनी ७३ वर्षीया सांसद हुन् । राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन यही चैत २८ गते हुँदैछ ।

राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले यही चैत १५ गते पदबाट राजीनामा दिएपछि उपाध्यक्ष खाली छ । सत्तारुढ दलहरुले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन्। माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष पाएकाले उपाध्यक्षमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले दाबी गर्दै आएका छन् । एमालेकी विमला घिमिरे र एकीकृत समाजवादीकी मदनकुमारी शाह लगायतले राष्ट्रियसभाको उपाध्यक्षमा दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७