इरान–इजरायल युद्धको खतरा : इरानले एअरस्पेस बन्द गरेर सुरू गर्‍यो युद्ध अभ्यास


३० चैत्र २०८०, शुक्रबार
y

तेहरान । गाजापछि इजरायलले इरानको हमला सामाना गर्नुपर्ने सम्भावना बढेर गएको छ । सिरियामा रहेको इरानी दूतावासमा हमला गरेर बरिष्ठ अधिकारीहरू मारेपछि इरानले बदला लिने जनाइसकेको छ । इरानले इजरायलमाथि हमला गरे अमेरिका चुप लागेर नबस्ने भन्दै जो वाइडेनले इजरायलको सुरक्षाका लागि ‘फलामे ढाल’ बनेर उभिने जनाइसकेका छन् । जसका कारण मध्य पूर्व एसियामा थप द्वन्द्व बढ्ने सम्भावनालाइ नजर अन्दाज गर्ने अवस्था भने छैन ।

यसैबीच अमेरिकी मिडियाले इरानबाट हुन सक्ने सम्भावित खतरालाई लिएर ठूलो दाबी गर्न थालेका छन् । उनीहरूका अनुसार इरानले आणविक बम बनाउने प्रयास गरिरहेको र जसका लागि तीव्र गतिमा परमाणु सामग्री अर्थात् युरेनियम जम्मा गरिरहेको बताए । इरानले आणविक बम बनाउने आफ्नो मनसाय नभएको बताउँदै आएको भए पनि अमेरिकी अधिकारीहरूले इरानले आणविक बम बनाउन सक्ने डर भने कायमै रहेको छ ।

इजरायल र उसको आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानबीच पहिलेदेखि नै तनाव छ । इजरायलले एक इरानी कमाण्डरको हत्या गरेपछि इरानले इजरायलविरुद्ध बदला लिने डर बढेको छ । वासिङ्टन पोस्टका अनुसार इरानले आफूले कुनै आणविक बम नबनाउँदै आएको बताउँदै आएको छ तर सो देशसँग पर्याप्त युरेनियम छ कि उसले त्यसबाट कम्तीमा तीन वटा परमाणु बम बनाउन सक्छ ।

इरानले केही दिन वा हप्ताभित्रै यो गर्न सक्ने विश्वास गरिएको छ । उता इरानी मिडियाका अनुसार इरानले एयरस्पेस बन्द गरेर इरानी सेना युद्धाभ्यासमा उत्रिएका छन् । जसका कारण जर्मन एयरलाइन्स लुफ्थान्सा एयरलाइन्सले बिहीबार तेहरानका लागि सबै उडानहरू स्थगित गरेको थियो । मध्यपूर्वका सबै देशहरू हाल इरानबाट हुन सक्ने आक्रमणको खतरालाई लिएर अलर्टमा रहेको जनाएका छन् । अरबी भाषामा प्रकाशित इरानी समाचार एजेन्सीको रिपोर्ट अनुसार इरानले सैन्य अभ्यास गर्नका लागि राजधानी तेहरानमाथिको आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । तर पछि इरानी मिडियाले यो रिपोर्ट हटाएको थियो । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७