विष्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु


१६ बैशाख २०८१, आईतवार
1 20 death combodia vpPp8rNBJp

काठमाडौं । पश्चिम कम्बोडियास्थित एक सैन्य शिविरमा विष्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ । प्रधानमन्त्री हुन मानेटले शनिबार फेसबुकमार्फत् विष्फोटमा परी सैनिकको मृत्यु भएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री हुन मानेटले जारी गरेको वक्तव्यमा रक्षामन्त्री र रोयल कम्बोडियाली सशस्त्र बलका कमाण्डर इन चिफलाई मृतक सैनिकको तत्काल अन्त्येष्टिको व्यवस्था गर्न निर्देशन दिएको बताएका छन् । कम्बोडियाको सेनाले उक्त घटना ‘गोदाममा भएको गोलाबारुद विष्फोट’ बाट भएको बताएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूमा भत्किएको एक तले भवन धुवाँमा डुबेको देखिन्छ भने नजिकैको गाउँका एक बासिन्दाले पनि झ्याल फुटेको तस्विर अनलाइनमा शेयर गरेका छन् । अन्य तस्विरमा अस्पतालमा उपचार गराइरहेका सर्वसाधारणको अवस्था पनि देखिएको छ ।

दशकौँ लामो गृहयुद्धपछि गोलाबारुदले भरिएको कम्बोडियामा युद्धसामग्री दुर्घटना असामान्य होइन । यहाँ सुरक्षा मापदण्डको ढिलासुस्तीका कारण दुर्घटना हुने गरेको छ । विष्फोटपछि सार्वजनिक भएका तस्वीरहरूमा हतियारले भरिएको एउटा ट्रक विष्फोटका कारण पूर्णरूपमा क्षति भएको देखाइएको छ । विष्फोटका कारण कार्यालय भवन र नजिकैको ब्यारेक ध्वस्त भएको छ भने आसपासका २५ वटा घरमा पनि आंशिक क्षति पनि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७