नेपाल दोस्रो खेलमा वेष्ट इण्डिज ‘ए’ सँग पराजित


१६ बैशाख २०८१, आईतवार
lk

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेष्ट इण्डिज ‘ए’ १० रनले विजयी भएको छ । जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा आएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५० रनमा समेटियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेल ७१ रनमा अविजिति रहे पनि जित दिलाउन सकेनन् । गुलशन झाले २६ र लोकेश बमले १७ रन बाहेक अन्य ब्याटरले उल्लेख्यनीय रन बनाउन नसक्दा नेपाल पराजित हुन पुग्यो ।

वेष्ट इण्डिज ‘ए’ को जितमा ओबेद म्याककोय र गुडाकेश मोती दुई-दुई विकेट लिए भने रोस्टन चेज र ओसेन थोमसले एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनायो । उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे । साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए । नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई-दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए । प्रतियोगिताको तेस्रो खेल आगामी बुधबार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७