लम्बोदर न्यौपानेलाई २५ करोड ६९ लाख जरिवाना, तीन वर्ष कैद


१६ बैशाख २०८१, आईतवार
Lambodar Nyopane

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका पूर्व अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई दोषी ठहर गर्दै १२ करोड ८४ लाख ८७ हजार ९ सय ५५ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना कायम गरेको छ । त्यसैगरी तीन वर्ष कैद सजाय तोकेको छ ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले न्यौपानेको मुद्दामा आइतबार सजाय निर्धारण गरेको हो । यो मुद्दामा ९ प्रतिवादी थिए । गत चैत २५ मा मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणको तोकेको थियो । बिगो र जरिवाना गरी न्यौपानेले २५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ तिर्नुपर्ने विशेष अदालतले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष न्यौपानेसहित नौं जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । सम्पत्ति शुद्धीकरणसँग जोडिएको भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसँग सम्बन्धित विषयको हो । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैर कानुनी रुपमा आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको थियो ।

न्यौपानेलाई दोषी ठहर गर्दै बाँकी ८ जनालाई भने अदालतले सफाइ दिएको छ । न्यौपानेसहित रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमकुमारी केसी, इल्या दीक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा उपाध्यायविरुद्ध मुद्दा दर्ता गरेको हो । न्यौपाने बाहेकका अन्य सबैजनालाई अदालतले सफाइ दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७