कसैको पहिचान मिचिएको भए मेरो ल फर्ममा आउनुस्, निःशुल्क मुद्दा लडिदिन्छु : सुहाङ

‘०८४ मा भोट माग्नै नपर्ने गरी काम गर्छु’


१८ बैशाख २०८१, मंगलवार
suhang ilam

इलाम । नेकपा एमालेका तर्फबाट इलाम–२ का नव निर्वाचित सांसद सुहाङ नेम्वाङले पहिचानवादी राजनीतिका नाममा समाजमा अपवाह फैलाउने काम नगर्न आह्वान गरेका छन् ।

इलाममा आयोजित विजय सभामार्फत मतदातालाई धन्यवाद दिँदै सांसद नेम्वाङले पहिचानको राजनीतिबारे स्व. बुवा सुवास नेम्वाङकै शैलीमा आफ्नो धारणा राखेका हुन् । अध्यक्ष केपी शर्मा ओलीभन्दा अगाडिको वक्ताका रूपमा उभिएका सुहाङले पहिचानको नाममा भ्रामक अफवाह फैलाउन नहुने बताए ।

उनले भने, ‘एउटा छुटाउन नहुने कुरा मैले इन्द्रेणी समाजको कुरा गर्दै आएको छु । यो सबै जाति समुदाय मिलेर बसेको समाजमा इन्द्रेणीको सात वटा रंग कति राम्रो सुन्दर देखिन्छ । त्यस्तै हामी पनि आज यहाँ सबै जातजातिको अभिभावक, मित्रहरू छौं सबै मिलेर एक अर्कालाई साथ दिन उभिएका छौं । विकास निर्माणको अभियानमा हामी एकजुट भएर अघि बढेको देख्छ एकदमै खुशी लागेको छ । त्यसैले अग्रज अभिभावक र मेरा मित्रहरूमा म आग्रह गर्न चाहन्छु, भ्रामक अफवाहमा नलागौं । कुनै विषयमा मत भिन्नता छ भने संवादबाट हल हुन्छ । यदि कसैको हक अधिकार र पहिचान खोसिएको छ भने म मेरो ल फर्म आउनुस्, निःशुल्क मुद्दा लडिदिन्छु ।‘ नेम्वाङले एमाले आफू हरेक मतको सम्मान गर्दै अघि बढ्ने र आउने २०८४ को निर्वाचनमा घर–घर जानु नपर्ने गरी राम्रो काम गर्ने बताए ।

नेम्बाङले २०८४ मा हुने आम निर्वाचनमा भोट माग्नै नपर्ने गरी काम गर्ने बताएका छन् । निर्वाचनको नतिजापछि नेकपा एमालेले इलाम–२ मा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्बाङले इमान्दार भएर जनताको पक्षमा काम गर्ने बताएका हुन् । ‘म कसैलाई गाली गर्ने छैन । कसैलाई गलत भन्ने छैन । अरुलाई नराम्रो नदेखाइ आफूले राम्रो काम गर्नेछु,’ उनले भने, ‘०८४ को चुनावमा भोट माग्नै नपर्ने गरी काम गर्नेछु ।’ नेम्बाङले आफूले पाएको मत र भरोसाको एकएक हिसाब गर्दै अगाडि बढ्ने बताए । उनले भने, ‘तपाईंहरूलाई कहिल्यै पनि पछुतो हुन दिनेछैन । तपाईंहरूको सल्लाह सुझावमै अगाडि बढ्ने छु । काम गरेर देखाउने छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७