गोदावरीमा डढेलो निभाउने क्रममा घाइते पहरीको पनि मृत्यु


१९ बैशाख २०८१, बुधबार
godawari dadhelo

ललितपुर । ललितपुर गोदावरीको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा हिजो (मंगलबार) घाइते भएका अर्का एक व्यक्तिको पनि आज (बुधबार) बिहान मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते ४७ वर्षीय रमेश पहरीको पनि उपचारको क्रममा आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको गोदावरी–४ का वडाअध्यक्ष सानुभाई नगरकोटिले जानकारी दिए । उनका अनुसार पहरीको शव बर्न अस्पतालबाट पोस्मार्टमका लागि किस्ट अस्पताल लैजाने तयारी गरिएको छ ।

पोस्टमार्टमपछि आजै पशुपतिमा अन्तिम संस्कार गरिने उल्लेख गर्दै वडाअध्यक्ष नगरकोटीले भने, ‘उहाँको अन्तिम संस्कार सकेपछि मृतकका परिवारलाई नगरपालिका र वडाकार्यालयको बैठक बसेर उचित राहतको व्यवस्था गर्छौं ।’ गोदावरी नगरपालिकाभित्रका तपेश्वर, लेले, ठैडोललगायतका बनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

वैशाख १८ गते मंगलबार मात्रै डढेलो निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएका थिए । शंकरको उपचारका क्रममा हिजो (मंगलबार) दिउँसो र रमेशको आज वैशाख १९ गते बिहान निधन भएको हो । वनमा लागेको डढेलो नियन्त्रण बाहिर पुगेको छ । नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी राखे पनि सफल हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७