महिला फुटबल टोलीलाई एनआइसी एसिया बैंकको नगदसहित सम्मान


२४ बैशाख २०८१, सोमबार
IMAGE on felicitation of Nepal Womens National football team

काठमाडौं। एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ ।

बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा का अध्यक्ष पंकज विक्रम नेम्वाङले महिला टोलीको उच्च प्रदर्शनको लागि बधाई दिँदै सन् २०२७ र २०३१ को विश्वकप खेल्ने लक्ष्य लिएर टोलीलाई वाफ च्याम्पियनसिपमा भाग लिन पठाएको बताए ।

महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङले महिला टोलीले वाफ च्याम्पियनसिपमा गरेको प्रदर्शन र यस्ता खाले सम्मानले सम्मानले पुरुष टोलीलाई पनि प्रेरणा दिएको बताए । महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले सम्मानका लागि एनआइसी बैंकलाई धन्यवाद दिदै यस्तो सम्मानले खेलाडीको मनोबल बढ्ने बताइन् ।

फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा भाग लिएको नेपाली टोली पहिलो सहभागितामा नै फाइनल पुगेको थियो । जोर्डनसँग फाइनलमा ५–३ ले पराजित हुनुअघि खेलमा २–२ को बराबरी भएको थियो ।

एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले महिला टोलीको असाधारण सफलताका कारण सम्मान गरिएको बताए । सोही अवसरमा बैंकले राष्ट्रिय टोली र त्रिभुवन आर्मी क्लबकी गोलकिपर अन्जना रानामगरलाई आफ्नो ब्राण्ड प्रमोटरको रुपमा घोषणा गरेको थियो । अहिलेको सम्झौता एक वर्षको रहने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७