रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका चार एजेण्डा


२५ बैशाख २०८१, मंगलवार
raswapa sansad

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज (मंगलबार) बस्दैछ । संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजे बैठक बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन् ।

उनका अनुसार बैठकका लागि चार वटा कार्यसूची तय गरिएको छ । संसदको बर्खे अधिवेशन यही वैशाख २८ गतेबाट प्रारम्भ हुँदैछ । आगामी बजेट अधिवेशन र सरकारको नीति कार्यक्रमबारे बैठकमा छलफल हुने सचेत डाँगीले बताएकी छन् । त्यस्तै पार्टीको संसदीय कामकारबाहीबारे पनि छलफल हुनेछ ।

संसदीय दलको बैठकमा इलाम–२ को उपनिर्वाचनको पनि समीक्षा हुनेछ । वैशाख १५ गते भएको उपनिर्वाचनमा रास्वपा चौंथो भएको थियो । नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बू चौथो भएका थिए । उनले ५ हजार ५० मत प्राप्त गरेका थिए ।

यस्तै आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टी रणनीतिका सम्बन्धमा पनि छलफल हुनेछ । यस बाहेक सरकारमा सहभागी मन्त्रीहरूको कामको पनि समीक्षा हुने रास्वपाले बताएको छ । प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद छन् । इन्दिरा रानामगर उपसभामुख भएकाले बैठकमा २० जना सांसदको सहभागी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७