संसदको अवरोध हटाउन सभामुखले राखेको शीर्ष नेताहरूको बैठक जारी


२५ बैशाख २०८१, मंगलवार
savamukh ra shirsa neta ko baithak suru

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरूसहितको बैठक जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपासहित विभिन्न दलका प्रमुख सचेतकहरू सहभागी छन् ।

बैठकमा उपसभामुख इन्दिरा राना र कानून मन्त्री पदम गिरी पनि सहभागी छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार मध्याह्न शीर्ष नेताहरूले बैठक बसेको हो । यही वैशाख २८ गतेदेखि संसदको अधिवेशन सुरू हुँदैछ । बैठक सुरू हुनुअघि सभामुखले सत्ता र प्रमुख प्रतिपक्षीसहित दलहरूको बैठक राखेका हुन् ।

आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन् । सहकारी प्रकरणमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ । प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर संसदीय समिति माग गर्दै बैठक अवरोध गरेको थियो ।

त्यसबेला पनि सभामुखले सत्ता र प्रतिपक्षी दलहरूको बैठक राखेका थिए । साथै सभामुखले संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन संसदीय समितिका सभापतिहरू र सचेतकहरूसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकहरूसँग अलग अलग भेट गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७