राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरूलाई चिढ्याउन हुँदैन : प्रधान सेनापति शर्मा


२५ बैशाख २०८१, मंगलवार
Prabhuram sharma 2

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका छन् । आज (मंगलबार) राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका हुन् ।

संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरु देखापरे पनि समाधान नै गर्न नसक्ने प्रकारका कुनै चुनौति नरहेको उनले बताएका छन् । ‘कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातिय पहिचानको आधारमा केही घटनाहरु हुने गरे पनि ती समस्याहरुलाई स्थानीयस्तरमै राजनीतिक दलहरुले मिलाउने गरेका छन् । देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको छ’, उनले भने ।

मंगोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरु बेलाबेलामा आन्दोलित हुने गरे पनि राष्ट्रिय समस्याको रुपमा नरहेको उनको भनाइ थियो । त्यस्तै दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ती गतिविधिले सुरक्षालाई कुनै असर नपुर्‍याएको उनले बताएका छन् । प्रधानसेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालको क्षेत्रमा पनि केही न केही असर पारिरहेको बताए।

भारत र चीनबीच दक्षिण एसियाली क्षेत्रमा बढिरहेको प्रभाव विस्तारको प्रतिस्पर्धा र भारतमा बढिरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको विश्लेषण पनि सुनाए । ‘त्यसको असर अवश्य पनि हाम्रो जस्तो देशलाई पर्दछ,’ संसदीय समितिमा सेना प्रमुखको भनाइ थियो, ‘म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिङ्ग्या शरणार्थी आएर बसेका कारण तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरू निम्त्याउन सक्छन् ।’

प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरू भारत र चीनलाई कहिल्यै पनि चिढ्याउन नहुने बताए । यद्यपि उनीहरूले नचाहिँदो कुरा गरेमा त्यसको विरोध गर्नुपर्ने उनको धारणा छ । नेपालमा युरोपेली संघ र अमेरिकाको पनि चासो रहेको भन्दै उनले सबैलाई सन्तुलन मिलाएर लानुपर्ने विचार राखे । देशको हितको लागि सबैसँग वार्ता गरेर अगाडि बढ्नु पर्नेमा उनको जोड छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७