बासीभात

आमाले देहत्याग गरेको दुई दिन । उनको मलामीको दिन थियो । घामका दुई झुल्काई र अस्ताई आमाको चरित्र र मातृत्व विश्लेषणले भरिपूर्ण थिए ।


२६ बैशाख २०८१, बुधबार
nirakar

–निराकार भक्त राई

आमाले देहत्याग गरेको दुई दिन । उनको मलामीको दिन थियो । घामका दुई झुल्काई र अस्ताई आमाको चरित्र र मातृत्व विश्लेषणले भरिपूर्ण थिए । आत्मबोध र अनिदोपनका ती क्षणहरुमा आँखाबाट आँशु बगेको एक क्षण पनि थिएन । एक अभिभावक गुमाउनु जस्तो विडम्बनाको पलमा न त नदी बगे न त एक सानो पानीको कल नै । मेरा गालाहरु बाँझो नै रहे । मन कठाङ्ग्रिएको । आठ बजिरहेको थियो; म भान्सामा पसे र विलक्ष्य फ्रिज खोलेर रमिता हेर्न लागें ।
केहि हुन्न । बिहान उठ्यो, खाली फ्रिज खोल्यो, हेर्‍यो ।

आमाका ती शब्दहरु कानमा गुञ्जिरहे । तर यसताका भने फ्रिजमा खुट्टा टेक्ने ठाउँ थिएन । श्रद्धाञ्जली ज्ञापन गर्न आएका पाहुनाहरुले ल्याइदिएको कोसेली रक्सी, जुस, तरकारी र प्लाष्टिक बट्टामा बासीभात । आफ्नै संसारमा बेपत्ता म पनि उ र कराईको द्वन्द्वले झसङ्ग भए । फ्रिजको ढोकाबाट आँखा उघारेर हेर्दा फुपूलाई भेटें । बुबाकी एक्ली बहिनी, घर निकै टाढा । सालको दुई–तीनपल्ट भेट हुने गर्थ्याे । भाउजुको मलामीका लागि भनेर सालको चौंथोपल्ट । चुला अगाडि उभेर खाना पकाइरहेकी थिइन् । उनको पछाडि प्लाष्टिक बट्टाको हिमचुली । प्राणभन्दा प्यारो आमाको त्यो बट्टाहरुको चाङको निर्माण भने नियमित रूपमा उपभुक्त दहीका बट्टाहरुबाट भएको थियो ।

‘भोक लाग्यो ?’ भनेर फुपूले मतर्फ एक प्रश्न र एक मुस्कान फालिन् । आमाको स्थानमा उभिएको उनको त्यो उपस्थितिले मनमा वीभत्स र घृणाको अप्रत्याशित भावना जगायो । भोक लागे पनि लागेको छैन भनेर म आफ्नो कोठातिर गएँ । प्रायजसो भान्सा कोठामा हाजिर गराउन आमाले चार–पाँचपल्ट झर्किएर बोलाउनु पथ्र्यो । त्यो दिन १० बज्दासम्म पनि मलाई खाना खान कसैले बोलाएनन् । बहिष्कार नै पो गरिहालेकी भनेर थाल–बटुकाको हल्लातर्फ चियाउन गएँ । खाडीबाट भर्खरै फर्केका बुबा, फुपू र भाइ खाना खाइरहेका थिए ।

बुबाको प्रश्न, ‘खाना खान्नस् ?’
फुपूको उत्तर, ‘भोक लागेको छैन भनेकोले उसको लागि त पकाकै छैन । कि भोक लाग्यो ?’
मेरो उत्तर, ‘छैन, तपाईहरु खानु न ।’
हातले भाँडा माझिरहेको बेला आँखा भने आमाको प्लाष्टिक बट्टा सङ्ग्रहमा गयो । जुठो भाँडाहरु धारामा ल्याउँदै गर्दा फुपूले राहतको सुस्केरा हाल्दै भनिन्, ‘हेर यसरी हो, ठिक्क खाना बनाउने भनेको । न धेर, न कम । प्लाष्टिक बट्टाको नि काम भएन । खै, तिम्रो आमालाई जहिले किन चाहिने भन्दा बेसी भात पकाउनु पथ्र्यो । गज्याङ्गुजुङ मात्र ।’

स्वर्गवासी आमाप्रतिको यस्तो निरर्थ गुनासोले मेरो मनमा काँडा बिझ्यो । आमाको सबैभन्दा ठूलो आलोचक फुपू थिइन्; उनको अनगिन्ती कुत्सालाई म मस्तिष्कमा बास दिन्नथेँ । तर यसपालि उनको कुरामा धेरथोर सत्यता थियो । आमाले सधैँ चाहिनेभन्दा बढ्ता खाना पकाउँथिन् । अफ्रिकाका बच्चाहरुले चुहाउने र्‍यालको चित्र कोर्दै, खाना खेर नफाल्नु भनेर गाली गर्दै खाना खुवाउने त्यही आमा भने अविनाश र अनावश्यक मात्रामा भात पकाउने गर्थिन् । यति मात्र हैन, उनको बानी व्यहोरामा टिप्पणीलायक ठाउँहरु निकै थिए । व्यापारीहरुसमक्ष उनी आफ्नो किचकिचे सौदाबाजीले गर्दा प्रसिद्ध थिइन् । आफू छिट्टै रिसाइहाल्ने तर अरुको रिस सहन नसक्ने उनको रिसउठ्दो बानी । छोराहरुलाई निरन्तर काम अह्राउन पाउँदा उनको मन प्रफुल्लित हुन्थ्यो । निर्जीव आमाको बारेमा यस्तै कुराहरु सोच्दै थिएँ । हो रहेछ, मानिस त आफ्नो त्रुटिहरुकै प्रतिफल हुँदोरहेछ ।

विदेशिएको बुबाको अभावले हो या सानो भाइको पढाइमा कमजोरी; किन हो किन आमा र मेरो दिन दिनैजसो झगडा हुने गथ्र्यो । त्यहि झगडा सङ्ग्रह मेरा आँखा अगाडि चलचित्रझैँ खेलिरहेका थिए । त्यसमध्ये एउटालाई टपक्क टिपेर दिमागमा आलोचना गर्न थालेँ ।
‘रेशमको आमा कति बुझ्ने हुनुहुन्छ, भोक लागेको छैन भन्दा कचकच गर्नको साटो खाना थन्काउनमा लाग्छिन् ।’
‘त्यसो भए जा, जहाँसुकै जा, रेशमको आमाले तलाई पाल्छिन्, उसैकोमा जा ।’

राता आँखा पार्दै, छाती फुलाउँदै एकअर्कालाई हेरेर बस्यौँ । युद्धस्थल शान्त भयो । राम्ररी नकसी छाडेको धाराबाट जसरी तपतप पानी चुहिन्छ, आमाको आँखाका कुनाबाट त्यसरी नै आँशु बगेको मैले देखेँ ।
‘खाए आफ्नै लागि हो, म पनि किन कर धेरै गर्नु ?’

धेरैबेर त्यहि बसे म आफैँ डाको छोडि आफ्नो गल्तीको माफ माग्छु होला सम्झि कोठातर्फ लम्केँ । कोठाभित्र के गरेर बसेँ, कसरी समय बित्यो, सम्झना भएन । तर ३–४ घण्टा पछि टवाइलेट जान बाध्य भएा । निस्किन ढोका खोलेँ, तल एक थाल दालभात तरकारी थियो । क्रोधले भोकलाई लुकाएको थियो होला, सुटुक्क थाल तानेर खान सुरु गरेँ । अलिक चिसो थियो, अचार भइदिएको भए, रेशमकी आमा भएको भए यो भात कति तातो हुने थियो…
अब कचकच गर्ने कोहि नभएको कुरा सम्झिँदा ओठमा बिस्तारै मुस्कान उम्रेको अनुभव गरें ।

मलामी हिँडेको गाडीमा बसेको रहेछु, आफूले पत्तो नै पाइनँ । विदुर भएको अवस्थामा पनि बुबाले आफ्नो नियमित पान चपाइरहेका थिए । फुपू कोही आफन्तसँग कोही अर्का आफन्तका कुरा काट्दै थिइन् । त्यो बाहेक गाडीका प्राय यात्रुहरु शान्त, मौनधारण गर्दै बसिरहेका थिए । गाडीको दुर्लभ शून्यतामा म आफ्नै दुनियाँमा, आफ्नै मस्तिष्कमा विभिन्न विचारहरु कोर्दै थिएँ । जीवनको बारेमा सोच्दै थिएँ । सोच्दै थिएँ । नरोएको धेरै भएछ भन्ने कुरा मनमा खेलिरह्यो । आमा गुमाउनुको वैमनस्य र वेदना त थियो नै, तर त्यही व्यर्थको प्रतिबिम्ब बनी आँखामा आँशु फेला परेनन् ।

आत्मामा एक प्रकारको खल्लोपन, कटुता प्रादुर्भाव भएको चेष्टा (वा दुश्चेष्टा) भइरहेको थियो । नढाँटी भन्नुपर्दा त त्यही आत्मा नै विलिन भएको जस्तो सोच मानसपटलमा घुमिरहेको थियो । मुटुको अस्तित्व भौतिक रुपमा थियो, शरीरमा रक्तसञ्चारलाई कायम राख्दै । भावनात्मक हिसाबमा मेरो मन बेपत्ता ।

भोक निकै लागेको अवस्था । वरिपरि खानको लागि केही छ कि भनेर आँखाले खोजजाँच गर्न लागेँ । उहि मातृ विचार र भावनामा मग्न म नयनहरुलाई भौतारिने मौका दिएपछि बोध भयो कि म त बागमतीको किनारमा आइपुगिसकेछु । मानिसहरुको भिडमा पनि खल्लो र रङ्गहिन महसुस भइरहेको थियो । निराहार मेरो पेटबाहेक सबै जना शान्त थिए । जलिरहेको चिता हेर्दै थिएँ; आगोको राप ठूलो थियो, तैपनि मेरा खुट्टाहरु काम्दै थिए । पल्लो छेउमा उभिएकी फुपूलाई मतर्फ लुसुकलुसुक लम्केको देखेँ । आफ्नो मुख मेरो काननिर ल्याइन् र भनिन्, ‘तिम्रो आमा…’

म त्यहाँबाट रिसाएर हिँडेँ । भोकले हो कि हैन, थाहा भएन । चिताको त्यो आगो आफ्नो छातिभित्र भएको अनुभव भयो । घरतिर लाग्दै थिएँ, रिसमा म बग्दै थिएँ । त्यो आगो, त्यो चिता सम्झें । अनि बुझेँ। बुझेँ मैले । आमा कसरी झनक्क रिसाउन सक्थिन् भनेर । उनको हृदयमा गुम्सिएर बसेका थिए; कैयन वेग, कैयन भावना । उनी पनि आफू एक व्यक्ति थिइन् । उनी छोरी थिइन्, बहिनी थिइन्, स्वास्नी थिइन्, साथी थिइन् । उनी आमा थिइन् । थिइन् भूत काल । बल्ल चेष्टा भयो, अब आमा हुनु हुन्न भनेर ।

चेष्टा भयो । मेरो आत्माको त्यो खल्लोपन त खासमा एक्लोपन रहेछ । बिछोडको एक्लोपन । रित्तिएको मायाको एक्लोपन । आमा गुमाएको एक्लोपन । आफैंलाई बुझ्न सकेको रहेनछु । मलाई दुःख नभएको होइन । शब्दका माध्यमद्वारा व्यक्त गर्न नसकिने मात्राको दुःख पो भएको रहेछ । अवर्णनीय दुःख अचेतनामा परिणत हुँदोरहेछ । त्यस अवस्थामा पुग्दा दुःख दुःख नभएर शून्यता हुँदोरहेछ । अस्तित्वहिन ।

चेष्टा भयो । घर पुगिसकेछु । रिस अझै थियो, लाली पाउडर श्रीङ्गार बिनाको रातो मुहारले छर्लङ्ग पारिदियो, भोक झनै धेरै । भान्साभरि खानको लागि केहि थिएन, झनै रिस उम्लियो । फ्रिज खोलेर हेरें । प्लाष्टिक बट्टा । आफ्नी आमाले बनाइ राखेको ४ दिन पुरानो बासीभात झिकें । दाल छैन, तरकारी छैन । फुकै बजाइदिएँ । जिन्दगीको सबैभन्दा मिठो भात, त्यो नि यति चिसो । आमाको हातको अन्तिम खाना । अनि मैले बुझेँ । जीवनको धेरै कुरा बुझें । ती अगणनीय कुराहरुमध्ये एक कुरा के रहेछ भने, आँशुको स्वाद त नुनिलो हुँदोरहेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७