मातातीर्थमा स्नान गर्नेको घुइँचो


२६ बैशाख २०८१, बुधबार
mata tirtha

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ ।

कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान गरेमा पुण्य हुने विश्वास छ । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । आज विशेष रूपमा आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा खुवाएर आशीर्वाद लिने परम्परा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७