मैले पार्टी फुटाउँदैछु भनेर सुनियोजित भ्रम फैलाइयो : झलनाथ खनाल


२६ बैशाख २०८१, बुधबार
jhalanath khanal

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्दैछ भनेर सुनियोजित रूपमा भ्रमपूर्ण हल्ला फैलाइएको स्पष्ट पारेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनपछि नेकपा एकीकृत समाजवादी पनि फुट्न लागेको चर्चाबीच नेता खनालेले प्रष्टीकरण दिएका हुन् ।

नेता खनालले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केहि दिनअघि मात्र तत्कालीन जनता समाजवादी पार्टी नेपाल समेत विभाजित भएको छ । यही शिलशिलामा केहि दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ । केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइ दियो ।’

उनले पार्टी आफ्नो पार्टीको १० औँ राष्ट्रिय महाअधिवेशनको सम्मुखमा पुगिरहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘देशको समाजवादी क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरूलाई परिष्कृत र परिमार्जित गर्दैछ, क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टी एकता र कम्युनिष्ट एकतालाई विस्तार गर्ने आधार निर्माण गर्दैछ, देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दैछ । त्यसै कारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्त्वहरू आतंकित भएका छन् । त्यसैले उनीहरू प्रतिक्रियावादीहरूका मक्किइसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरू लिएर हाम्रो पार्टीविरुद्ध आइलाग्न कोशिस गर्दैछन् ।’

पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई प्रतिक्रियावादीहरू, अवसरवादीहरू र पार्टी विरोधी क्षुद्र तत्वहरूका अनर्गल प्रचारबाट होसियार बन्न आग्रह गरेका छन् । उनले वर्तमान नयाँ सत्ता समीकरणमा समर्थन रहेको समेत जनाएका छन् ।

jhalanath

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७