हजारौं जनताको अर्बाैं हिनामिनाको विषय छानबिन गरौं भन्दा सरकारले बेवास्ता गर्‍यो : कांग्रेस


२६ बैशाख २०८१, बुधबार
ramesh lekhak

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा प्रमुख प्रतिपक्षले उठाएका महत्वपूर्ण विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको बताएका छन् । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारसँगको भेटघाटमा उनले मन्त्री वा कुनै व्यक्ति विशेष नभई हजारौं जनताको अर्बाै रकम हिनामिना र अपचलन भएको विषयमा छानबिन गरौँभन्दा त्यसलाई बेवास्ता गरिएको आरोप लगाए ।

प्रमुख सचेतक लेखकले भने, ‘जनताले छाक काटेर सहकारीमा राखेको रकम अपचलन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानलाई राम्रो बनाएर लैजानुपर्छ ।’ आफ्नो पार्टी सरकारमा रहँदा पनि ऐन निर्माणका लागि आवश्यक विधेयक ल्याउने र पारित गर्ने विषयमा कमी कमजोरी भएको स्वीकार्दै उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौँ, हिजोको त्यो कमी कमजोरी यथावत छ । विधायनको काम कमजोर भयो भनी आएका सुझाव बोधगम्य छ ।’

संसद्को प्रभावकारिता हुन सकेन र जनतालाई संसद् हाम्रा लागि हो भन्ने अनुभूति भएन भने व्यवस्थालाई नै कमजोर तुल्याउन सक्नेतर्फ विचार पुर्‍याउन आवश्यक रहेको बताउँदै नेता लेखकले संसद्लाई काम दिने र जवाफदेही तुल्याउने जिम्मेवारी सरकारकै भएको विचार प्रकट गरे ।

संसदमा दलका नेताबीच मन्तव्यका क्रममा हुने आलोचनात्मक क्रियाकलापले अवलोकनका लागि आउने विद्यार्थीले के पाठ सिक्न सक्छन् भन्नेमा सचेत हुन आवश्यक रहेको बताउँदै पूर्वमन्त्री लेखकले नेकपा (एमाले) सँग नयाँ समीकरण बनाउने र अहिलेको गठवन्धन भत्काउने खेलमा आफ्नो पार्टी नरहेको प्रतिक्रिया दिए । देश र जनताका महत्वपूर्ण र आधारभूत विषयमा सरकार, प्रमुख प्रतिपक्ष दलबीच सहमति, सहकार्य र समन्वय हुन जरुरी रहेको बताउँदै उनले यस पटक पहिलाको जस्तो छायाँ सरकार बनाएर अघि बढ्ने मनस्थितिमा कांग्रेस नरहेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७