दोस्रो क्वालिफायरमा सनराइजर्स र राजस्थान भिड्दै


११ जेष्ठ २०८१, शुक्रबार
ipl rrvsshr

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरको खेल आज हुँदैछ । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्दै छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ ।

राजस्थान रोयल्सले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो । त्यस्तै, सनराइजर्स हैदरावाद भने पहिलो क्वालिफायरमा कोलकोता नाइट राइडर्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो । त्यस्तै, सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आईपीएलको उपाधि जितेको छ । २०१३ देखि आईपीएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो भने योसहित सात पटक प्लेअफमा पुगेको छ ।

अर्को तर्फ सनराइजर्सका लागि यस सिजनमा ट्राभिस हेडले शानदार सुरुवात दिइरहेका छन् । उनले यस सिजनमा अहिलेसम्म ५३३ रन बनाएका छन् । त्यस्तै, अभिषेक शर्माले पनि यस सिजनमा शानदार ब्याटिङ गर्दै अहिलेसम्म ४७० रन बनाएका छन् । त्यसैगरी, सनराइजर्सका लागि टि नटराजनले १८, कप्तान पाट कमिन्सले १६ विकेट लिएका छन् ।

त्यस्तै, राजस्थानका लागि यस खेलमा ओपनर जोस बटलर खेल्ने छैनन् । उनी विश्वकपको तयारीका लागि इङल्याण्ड फर्किसकेका छन् । त्यस्तै, राजस्थानका लागि रियान परागले यस सिजनमा शानदार ब्याटिङ गरेका छन् । उनले अहिलेसम्म ५६७ रन बनाएका छन् भने कप्तान सन्जु सामसनले ५२१ रन बनाएका छन् ।

राजस्थानका लागि युजवेन्द्र चहलले सर्वाधिक १८ विकेट लिएका छन् भने आभेश खानले १६ विकेट लिएका छन् । राजस्थानले भने आईपीएलको पहिलो सिजनमै उपाधि जितेपनि त्यसपछि भने उपाधि जित्न सकेको छैन । राजस्थान २०२२ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो । दुवै टिमका लागि यस सिजनको आईएलको फाइनलमा पुग्ने अन्तिम अवसर हो । यस खेलको विजेता फाइनलमा पुग्ने छ र उपाधिका लागि कोलकोता नाइट राइडर्स सँग खेल्ने छ । त्यस्तै यस खेलमा पराजित हुने टिमको भने आइपिएल यात्रा समाप्त हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७