टीओआरमा सहमति जुटाउन कार्यदलको बैठक जारी


११ जेष्ठ २०८१, शुक्रबार
karya dal

काठमाडौँ । सहकारी संस्थाको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । बिहीबारको बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेपछि आज पुनः बैठक भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागबाट पछि नहट्दा सहमति हुन सकेको छैन ।
संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलका अन्य सदस्यमा नेपाल कम्युनिस्ट पार्टी एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र सांसद ज्ञानेन्द्रबहादुर कार्की तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् । सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेशबारे छलफल गर्न कार्यदलको बैठक बसिरहेको छ । कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । छानबिन समितिको कार्यादेश टुंगाउन लगातार छलफल भइरहे पनि सहमति जुट्न भने सकेको छैन । यसिअघि बिहीबार बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको थियो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समिति गठन गर्दा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान सुरुदेखि नै राखिरहेको छ । तर, एमाले र रास्वपा भने गृहमन्त्री लामिछानेको नाम नलेखेर सहकारीको नामसम्म लेख्न सकिने अडानमा छन् ।

सत्तापक्ष र प्रतिपक्षी दल दुवैले अडान नछोडेपछि कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ । कार्यदलका सदस्य तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरेसम्म सहमति जुट्न नसक्ने बताए । उनले लामिछानेको नाम उल्लेख नगरी गोलमोटल भाषामा छानबिन अगाडि बढ्न नसक्ने बताए । बिहीबारको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री लामिछानेको नाम राख्ने विषयमा सहमति जुट्न नसकेको बताएका थिए । यद्यपि, उनले कांग्रेस सहमतिको नजिक आएको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७