८० रोपनीमा क्षेत्रफलमा चिया खेती, बगानभित्रै ९० लाखको रिसोर्ट


११ जेष्ठ २०८१, शुक्रबार
Tea bhojpur

भेजपुर । भोजपुर टेम्केमैयुङ गाउँपालिका–३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गरेको चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ ।

उनको चिया बगान ८० रोपनी क्षेत्रफलमा फैलिएको छ । बगान हेर्न र घुम्न आन्तरिक तथा बाह्य पर्यटक पनि आउँछन् । ‘यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्रै टेम्के फनपार्क तथा रिसोर्ट सुरु गरेको छु,’ रञ्जितले भने, ‘रिसोर्ट निर्माणपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।’ करिब एक वर्षअघिदेखि सञ्चालनमा आएको रिसोर्टमा ९० लाख लगानी गरेका छन्। चियाखेतीबाट आम्दानीसँगै बगानमा पर्यटक बढाउन पनि सकिने उनको विश्वास छ ।

विसं २०७६ देखि गुरास चिया उद्योग सञ्चालन गरिरहेका उनको यो उद्योग भोजपुरमा एक्लो हो । हालसम्म चियाका लागि करिब दुई करोड ५० लाख लगानी गरेका उनले आफूले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्कसमेत पाइसकेको उनले जानकारी दिए । ‘अर्ग्यानिक चिया भएकाले देशका ठूला सहरसँगै विदेशसम्म जान थालेकाले चिया बजारीकरणमा कुनै समस्या छैन,’ उनले भने । गिरीले चियाले उचित मूल्य पाएमा वार्षिक २५ देखि ३० लाखसम्म आम्दानी गर्न सकिने बताए ।

उनले हाल अर्ग्यानिक हरियो चिया (ग्रिनटी) प्रतिकेजी १ हजार ८ सय, कालो चिया एक हजार २ सय र सिल्भर चिया ३० हजार रूपैयाँमा बिक्री गर्दै आएका छन् । उनले चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १७ लाख ५० हजार अनुदान पनि पाइसकेका छन् । ‘चियाखेतीबाट आम्दानी राम्रो छ, अब पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ,’ उनले भने, ‘चियाखेती हुने क्षेत्रफल बढाउने पनि योजना छ ।’

हाल उनको उद्योगमा पाँच जनाले रोजगारी पाइरहेका छन् । बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिए । उनले चियाको नर्सरीसमेत आफै गर्दै आएका छन् भने किसानलाई आवश्यक परामर्श पनि दिन्छन् । गिरीलाई प्रोत्साहन गर्नवडा कार्यालयका तर्फबाट सडक मर्मतका लागि तीन लाख उपलब्ध गराइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७