अमेरिकामा पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी


१२ जेष्ठ २०८१, शनिबार
nepali cricket team

काठमाडौं । अमेरिकामा पहिलो अभ्यास खेल खेलेको नेपाल ६ रनले विजयी भएको छ । आइसिसी टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपालले गए राति ह्युस्टन हुरिकेनलाई ६ रनले पराजित गरेको हो ।

नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ह्युस्टनले ८ विकेट गुमाएर १४० रन मात्रै बनायो । नेपालका लागि सोमपाल कामी र करण केसीले २-२ विकेट लिँदा रोहित पौडेल, अभिनाष बोहरा, सागर ढकाल र कुशल भूर्तेलले १-१ विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल साहले सर्वाधिक ४७ रन बनाए ।

त्यस्तै गुल्सन झाले २०, सन्दीप जोराले २१, कप्तान रोहित पौडेलले २३, कुशल मल्लले १२ र करण केसीले नट आउट १० रन जोडे । ओपनर आशिफ शेख ४ रन बनाएर आउट हुँदा कुशल भूर्तेल एक रनमै पेभिलियन फर्के । ह्युस्टनसँग नेपालले आइतबार बिहान दोस्रो अभ्यास खेल खेल्नेछ ।

त्यसपछि नेपालले विश्वकप खेल्ने देशसँग औपचारिक अभ्यास खेल्नेछ ।नेपालले जेठ १४ (मे २७)मा क्यानडा र जेठ १७ (मे ३०)मा अमेरिकासँग खेल्नेछ । टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् । विश्वकपमा ५५ खेल हुनेछन् । सुरूमा २० टोलीलाई ५–५ टिमको ४ समूहमा विभाजन गरिएको हो । चार समूहका शीर्ष २–२ टोली गरी कुल ८ टोली सुपर–८ मा पुग्ने छन् । सुपर–८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन् । सुपर–२ को दुई समूहका शीर्ष २–२ टोली सेमिफाइनलमा पुग्ने छन् ।

नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन् । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन् । सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन् । करण र सोमपाललाई बलिङ अलराउन्डरको रूपमा पनि टोलीले लिएको छ । स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७