यी १२ ठाउँमा कांग्रेसले विधान संशोधन गर्न सुझाब संकलन गर्दै


३ आश्विन २०७५, बुधबार
Nepali Congress Party Office

काठमाडौं, ३ असाेज ।  देश संघीयतामा गएपछि विधानमा महत्वपूर्ण फेरबदल गर्न लागेको कांग्रेसले विधान मस्यौदामा दोस्रो चरणमा १२ ठाउँबाट सुझाब संकलन गर्न लागेको छ । यसका लागि सात प्रदेशका १२ ठाउँमा कांग्रेसको विधान मस्यौदा समितिले सुझाब माग्ने तयारी गरेको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ । 

अब केही दिनमा प्रारम्भिक मस्यौदा तयार गरी कांग्रेसले जिल्ला सभापति, महासमिति, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिहरू, भ्रातृ, शुभेच्छुक संस्थाका प्रमुखहरू र सम्बन्धित जिल्लाका प्रदेश र संघका सांसदहरूको सहभागितामा सुझाब संकलन गर्न लागेको हो । झन्डै ९० देखि एक सय पेजको प्रारम्भिक मस्यौदा बनाएर सुझाब संकलनमा जाने तयारीमा मस्यौदा समिति लागेको हो ।

तीनवटा उपसमितिले आ–आफ्ना भागमा परेको मस्यौदा बनाएर बुझाएपछि त्यसलाई एकत्रित गर्ने काम भइरहेको मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए । रमेश लेखक, आनन्द ढुंगाना र दिलेन्द्र बडूले यसको काम गरिरहेका छन् ।

पूर्णबहादुर खड्का नेतृत्वको समितिले असोजको दोस्रो हप्ताभित्र पार्टीलाई विधान बुझाउने तयारी गरेको छ । कांग्रेसले यसपटक पार्टी संरचनालाई संघीय ढाँचामा बदल्दै छ । साथै, केन्द्रीय समितिमा सदस्य संख्या थप्नेदेखि केही पदाधिकारी बढाउनेसम्मको प्रस्ताव अघि सार्दै छ । विधानले गरेका व्यवस्थालाई केन्द्रीय समितिले पास गरेपछि आगामी मंसिरको ५ देखि ९ सम्म काठमाडौंमा हुने महासमितिले दुईतिहाइले पास गर्नुपर्नेछ ।

यी ठाउँबाट लिइँदै छ सुझाब
आगामी ८–९ असोजमा सानेपामा सुझाब संकलन हुनेछ । ११ र १२ गते धुलिखेल, प्रदेश १ को इलाममा ८ र ९ गते, विराटनगरमा ११ र १२ गते, जनकपुरमा ९ र १० गते, वीरगन्जमा १२ र १३ गते, पोखरामा ९ र १० गते, बाग्लुङमा १२ र १३ गते सुझाब संलकन गरिने छ । ९ र १० असोजमा बुटवल, १२ र १३ गते घोराही, ८ र ९ गते वीरेन्द्रनगर र ११ र १२ असोजमा धनगढीमा सुझाब संकलन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७