कार्यकर्तालाई नेता नेपालले भने– निर्वाचन आयोगले ओलीलाई आधिकारिकता दिए पनि आत्तिनु पर्दैन


२४ चैत्र २०७७, मंगलवार
Madhav Kumar Nepal EX PM Nepal scaled

काठमाडौं, २४ चैत । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा केपी ओलीलाई एमाले दिए पनि नआत्तिन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । आज (मंगलबार) आफू निकट बागमती प्रदेश कमिटीको घोषणा कार्यक्रममा बोल्दै नेता नेपालले निर्वाचन आयोगले ओलीलाई वैधानिकता दिई अध्यक्ष मानेमा पनि नआत्तिन आग्रह गरेका हुन् ।

उनले समस्या आएमा समाधान पनि निकाल्ने दावी गरे । आफ्नो पक्षमा लागेका कुनै पनि नेता कार्यकर्तालाई बीचैमा अलपत्र नपार्ने उनले दृढता व्यक्त गरेका छन् । एउटै डुङ्गामा यात्रा गर्नेहरूलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्‍याई छाडने उनको प्रतिवद्धता छ ।

उनले भने ‘भोलि वैधानिकरुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईहरूलाई परेको होला, नआतिनुहोस् जहाँ समस्या छ, त्यसको समाधान छ । समाधान हामी निकाल्ने छौं । त्यसो हुनाले बीचमा तपाईहरूलाई छाडने छैनौं । तपाईहरू र हामी एउटै डुङ्गामा सवार भएका छौं, त्यो डुङ्गालाई सफलताका साथ वारीबाट पारी पु¥याई छाडने छौं । लक्ष्यसम्म पुगि छाडने छौं । त्यसो हुनाले आत्तिनु पर्ने केही छैन ।’

नेपालले आफूहरू लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरूसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारे । त्यस क्रममा विभिन्न राजनीतिक दलका नेतृत्वसँग कुराकानी भइरहेको पनि उनले बताए । उनले भने ‘हामीले संयुक्त जनमोर्चासँग कुरा गर्‍यौँ, उहाँहरू पनि सकारात्मक हुनुहुन्छ, मोहन बैद्यजीहरूको समूहसँग कुरा गर्‍यौं उहाँहरू पनि सकारात्मक हुनुहुन्छ, अरु लोकतान्त्रिक पार्टीहरूले पनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ । हामी सबै सकारात्मक शक्तिहरूसँग एकतावद्ध भएर जान चाहन्छौँ । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन । तर यदि हाम्रो पार्टी अगाडि बढ्ने क्रममा कसैले बाधा अवरोधहरू खडा ग¥यो भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौँ । यही संकल्पका साथ हामी यहाँ भेला भएका छौं ।’

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको नेपालको भनाइ छ । आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्यकमेल गरिरहेको आरोप लगाउँदै नेपालले ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताए । अहिले प्रचण्ड र अन्य दलहरूसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेपालको भनाइ छ ।

ओलीले आफूहरूलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरुप देखाएको पनि नेपालले बताए । आफूहरूमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन् कि भन्ने भ्रम केपी ओलीमा रहेको नेपालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७