अझै साझा उम्मेद्वार टुङ्गो लगाउन सकेन पौडेल पक्षले, आजै अर्को बैठक बस्दै


२२ मंसिर २०७८, बुधबार
batiisputaliiii 1L2RkI2rOQ

काठमाडौं, २२ मंसिर । पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापति पदको साझा उम्मेदवार तय गर्न भनेर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आज (बुधबार) बिहान बसेको बैठक पनि बिना निष्कर्ष सकिएको छ ।

रामचन्द्र पौडेल समूहका नेताहरूको बैठकले सभापति साझा उम्मेदवारको छिनोफानो अब रामचन्द्र पौडेल र शंशाक कोइरालाले लिनुपर्ने निष्कर्ष निकालेको छ । बैठकले १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने जिम्मेवारी शीर्ष नेतालाई दिएको हो ।

वरिष्ठ नेताले संयोजन गरेको आजको बैठकमा समूह निकट रहेका केन्द्रीय सदस्य, नव निर्वाचित प्रदेश सभापति, जिल्ला सभापति र पूर्व सभापतिहरू सहभागी थिए । ‘साझा उम्मेदवार तय गर्दा रामचन्द्र पौडेल र शशांक कोइरालाले ब्याक हुन्छु भन्नु भएको हो भने अब शेखर कोइराला र प्रकाशमान श्रेष्ठमध्ये कसलाई साझा उम्मेदवार तय गर्ने हो भन्ने वहाँहरूले नै बताउनु पर्छ,’ बैठकमा सहभागी अधिकांश नेताहरूको धारणा थियो । बैठकमा सहभागी नेताहरूले व्यक्तिको नाममा समूहलाई विभाजन गर्न नहुने बताएका थिए । केन्द्रीय सदस्यहरूको पनि समान धारणा रहेको बैठकमा सहभागी एक नेताले भने ।

शेखर र प्रकाशमानका गृह जिल्लाका सभापतिहरूले भने दुई नेता नै अध्यक्षको दाबेदार हुनुपर्ने अडान राखेका थिए । शेखरको गृह जिल्ला मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बु र प्रकाशमानको गृह जिल्ला काठमाडौंका जिल्ला सभापति सबुज बानियाँले आ-आफ्ना नेताहरूको पक्षमा धारणा राखेका थिए ।
दाबेदार नै आएनन्
महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न बुधबार बैठक बोलाइएकोमा सभापतिका दाबेदार भनिएका नेताहरू नै अनुपस्थित बने । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ः३० बजेदेखि शुरु भए पनि सो समूहबाट सभापतिका उम्मेदवारहरू भनिएका नेताहरू कोही पनि आएनन् । बैठकमा पौडेल पुगे पनि अन्य आकाङ्क्षीहरू भने अनुपस्थित रहे । अरू नेताहरू नआएपछि पौडेल पनि बैठकस्थलबाट बाहिरिएका थिए ।
सिटौला फकाउन निवासमै रामचन्द्र
बैठक लगत्तै पौडेल अर्का नेता कृष्णप्रसाद सिटौलालाई भेट्न चन्डोलस्थित उनकै निवास पुगेका छन् । आफ्नो समूहबाट १४ औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्न सकस परिरहेका बेला पौडेल सिटौलालाई भेट्न पुगेका हुन् ।

स्रोतका अनुसार आजको भेटमा पौडेलले सिटौलालाई आगामी महाधिवेशनबाट नेतृत्वका लागि सबै जना एक ठाउँमा उभिनुपर्ने प्रस्ताव अघि सारेका थिए । जवाफमा सिटौलाले यस विषयमा निणर्य लिन आफ्नो समूहमा छलफल गर्नुपर्ने बताएका थिए । दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो । बिहानको बैठकले पनि साझा उम्मेदवार तोक्न नसकेपछि केन्द्रीय सदस्यहरुसहित पौडेल पक्षबाट सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंहको घर चाक्सीबारीमा आजै दिउँसो ३ बजे पुनः बैठक बस्ने निणर्य गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७