चिनियाँ टेलिकम कम्पनीमाथि फेरि अमेरिकाको प्रतिबन्ध


१५ माघ २०७८, शनिबार
China tele1643394947

बेइजिङ । पछिल्लो समयमा अमेरिकाले सुरक्षा जासुसीको खतराको कारण चीनको अर्को विशाल टेलिकम कम्पनी ’चाइना युनिकम’ माथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाको संघीय संचार आयोग (एफसिसि)ले आफूले अमेरिकामा यस कम्पनीको अमेरिकी इकाइलाई काम गर्न नदिने विषयमा सर्वसम्मतले मतदान गरेको जनाएको छ । अब चाइना युनिकमले ६० दिनभित्र अमेरिकामा आफूले प्रदान गर्दै आएको टेलिकम सेवा रोक्नुपर्ने हुन्छ ।

यसअघि गत वर्षको अक्टोबरमा चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनी चाइना टेलिकमको अमेरिकामा आफ्नो कार्य संचालन गर्न पाउने अनुमति रद्द गरिएको थियो । एफसीसीका महिला अध्यक्ष जेस्सिका रोजनवोर्सलले भनेकी छन्, ‘चीनको सरकारी टेलिकमहरूबाट हाम्रो टेलिकम नेटवर्कहरूमा के कति खतरा हुनसक्छन् भन्ने प्रमाणहरू भेटिएका छन् ।’

चाइना युनिकमले बीबीसीलाई बताएको छ, ‘हाम्रो अमेरिका स्थित इकाइले अमेरिकाको सम्पूणर् नियम कानुनहरू पालना गरिरहेको छ । र, विगत दुई दशकदेखि आफ्ना ग्राहकहरूका भरपर्दो साझेदारका रूपमा दूरसंचार सेवा प्रदान गर्दै आइरहेको छ । चाइना युनिकम (हङकङ) लिमिटेडले यस परिस्थितिको विकासलाई निकटबाट पछ्याउने छ ।’

बीबीसीले यस विषयमा प्रतिक्रिया दिन अनुरोध गर्दा वासिङटनस्थित चिनियाँ दूतावासले तत्काल कुनै जवाफ दिएको छैन । पछिल्ला केही वर्ष अमेरिकी सरकारले राष्ट्रिय सुरक्षा चासोको कारण चिनियाँ प्रविधि तथा टेलिकम कम्पनीहरूलाई तारो बनाउँदै आएको छ ।

गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सुरक्षा खतरा हुने ठानिएका कम्पनीहरूको नयाँ टेलिकम उपकरण अनुमतिपत्र रोक्ने विधेयकमा हस्ताक्षर गरेका थिए । उक्त उपकरण सुरक्षा कानुन अन्तर्गत एफसीसीले सुरक्षा खतरा निम्त्याउन सक्ने कम्पनीहरूको निवेदन पुनरावलोकन गरिरहनु जरुरी छैन । यसको अर्थ हुवावे, जेडटीई र चीनका अन्य तीन कम्पनीलाई अमेरिकी टेलिकम नेटवर्कहरूमा प्रयोग गर्न पाइँदैन ।

गत नोभेम्बरमै राष्ट्रिय सुरक्षा र विदेश नीतिको चिन्ताको विषय बताउँदै अमेरिकी सरकारले थप एक दर्जन भन्दा बढी चिनियाँ कम्पनीलाई आफ्नो निषेधित व्यापार सूचीमा राखेको थियो । वासिङटनले तीमध्ये केही कम्पनीले चिनियाँ सेनाको क्वान्टम कम्प्युटिङ प्रोग्राम विकास गर्न मद्दत गरिरहेको जनाएको थियो । सन् २०१९ मा चीन सरकारको स्वामित्वमा रहेको चाइना मोवाइलको आफ्नो अमेरिकी अनुमति पनि रद्द भएको थियो । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७