मन्त्री बिना मगरको छड्केमा खानेपानी सचिव, क–कसको नाम टिपेर लगिन् ?
काठमाडौं, ५ चैत : खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरसहित एक दर्जनभन्दा बढी कर्मचारी छड्केमा परेका छन् ।
खानेपानी तथा सरसफाइमन्त्री विना मगरले १० बजे मन्त्रालयमा छड्के जाँच गर्दा ती कर्मचारी अनुपस्थित थिए । आइतबार मन्त्री मन्त्रालय पुग्दा सचिव ठाकुर, सहसचिव अनिल खनाल, ज्योतिकुमार श्रेष्ठसहित एक दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित भएको मन्त्रालय स्रोतले बताएको छ ।
‘पहिलो दिनमै सचिव, सहसचिवसहित दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित हुनु राम्रो होइन,’ मन्त्रीको भनाइ उद्दृत गर्दै एक कर्मचारीले भने, ‘भोलिदेखि कार्यालय समयमा उपस्थित नहुने र तोकिएको काम नगर्ने कर्मचारीमाथि कार्बाही अघि बढ्छ ।’ उनले अनुपस्थित हुने कर्मचारीको नाम टिपेर लगेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले भने मन्त्रीले छड्के गरेको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘खै मन्त्रीले छड्के गरेको भन्ने त मैले थाहै पाइनँ,’ सहसचिव सुवेदीले भने ।