ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझायो चोरिएका २८ मोटरसाइकल


२७ माघ २०७८, बिहीबार
Bike
फाइल फोटो

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरू फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

महाशाखामा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरूलाई बुझाएका हुन् । काठमाडौं उपत्यकाको व्यस्त बजार क्षेत्र र चक्रपथबाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको हुलिया निवेदनपछि परिचालन गरेको टोलीले खोजतलास गरी मोटरसाइकलहरू फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए ।

उनले मोटरासाइकल चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी राखेर सूचना संकलन भइरहेको जानकारी पनि दिए । मोटरसाइकल चोरीमा संलग्न त्यस्ता व्यक्तिहरूलाई नियन्त्रणमा लिन विशेष अपरेसन टोली खटाएर खोजी गर्ने कार्यसमेत भइरहेको महाशाखाले जनाएको छ ।
थप प्रष्ट पार्दै एसएसपी जोशीले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखो र सजक हुनुपर्ने बताए । उनले सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको समेत प्रयोग गर्न अनुरोध गरे ।

उपत्यकाबाट दुई पाङ्ग्रे सवारी साधनमध्ये पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ । पल्सरबाहेक पछिल्लो समय स्कुटरहरू समेत हराएको भनी निवेदन पर्ने क्रम बढेको महाशाखाले जनाएको छ ।

कतिपय सवारी दर्ता किताव(बिलबुक) सहित हराएका स्कुटरहरू नम्बर प्लेटसमेत परिवर्तन नगरी चलाएको अवस्थामा सक्कल ब्लुबुकसहित ट्राफिक चेकिङमा पर्दा ट्राफिक प्रहरीलाई समेत वास्तविकता निर्क्यौल गर्न कठिन देखिएको महाशाखाको भनाइ छ ।

महाशाखामा यस आर्थिक वर्षमा ८३१ वटा मोटरसाइकल हराएको भनि निवेदन परेकामध्ये ३०९ वटा मोटरसाइकल फेला पारेको जनाइएको छ । जसमध्ये २४४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइ सकेको छ । विभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाइकलसहित ३८ जना चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान एव कारबाहीका लागी विभिन्न प्रहरी वृत्तमा पठाइएको महशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७