चिनियाँ नयाँ वर्ष शुभारम्भ : चिनियाँ कलाकारहरुले काठमाडौंमा देखाए जादुमयी नृत्य (फोटो फिचर)
काठमाडौं : चिनियाँहरुको नयाँ वर्षको शुभारम्भको पूर्वसन्ध्यामा नेपालस्थित चिनियाँ राजदूतावासले विशेष सांस्कृतिक समारोहको आयोजना गरेको छ । चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडलाई स्वागत गर्न आयोजित कार्यक्रममा चिनियाँ कलाकारहरुले जादुमयी नृत्यहरु देखाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपालका लागि चिनियाँ राजदूत छङ् सनलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको सांगीतिक समारोहमा चिनियाँ कलाकारहरुले सोल्जर ब्यालेट, दिव्यपंक्षी, सुनौलो, भूमि, मयुर, हिमाली जादुयी, ड्रम पेडालिङ र परम्परागत चिनियाँ लोकनृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चीनको पराम्परागत बाजा र प्रसिद्ध चिनियाँ जादूसमेत प्रस्तुत गरिएको थियो । त्यस्तै नेपाली कलाकारहरुले ‘रेशम फिरीरी’ र ‘चौतारीको छेउमा पिपलुको छायाँ’ बोलको गीतमा नृत्य देखाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्रधानमन्त्री प्रचण्डले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताए । उनले ताइवान चीनकै अभिन्न अङ्ग भएको बताए । उनले ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रष्ट पारेको बताए ।
‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ । नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ छ । आन्तरिक तथा वाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिवद्धतामा कुनै हालतमा प्रभावित हुँदैन । ताइवान चीनकै अभिन्न अङ्ग हो’, उनले भने, ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ ।’