काम गर्न नसके सत्तामा टाँसिएर बस्दैनौं, झोलामा राजीनामा पत्र बोकेका छौं : गृहमन्त्री लामिछाने
‘अब नेता होइन, जनता बचाउने हो’
चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान सुरु भएको दावी गरेका छन् । आज चितवनको भरतपुरमा पार्टी नेता–कार्यकर्तासँग फागु पूर्णिमाको अवसरमा होली खेल्दै उनले नयाँ सरकार निर्माण भएसँगै जनतामा आशा पलाएको जिकिर गरेका हुन् ।
‘विभिन्न दलहरुसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ । सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ’ उनले भने । गृहमन्त्री लामिछानेले सरकार सञ्चालन र सुशासन कायम गर्ने विषयमा सबै शीर्ष नेताहरू एक ठाउँमा उभिएको उल्लेख गरे । ‘अब मान्छे बचाउने होइन देश बचाउने हो । नेता बचाउने होइन जनता बचाउने हो’, उनले भने ।
उनले कुनै पनि दलको पक्षमा बहुमत जनमत नभएकाले पनि सरकारमा गएर जनताको काम गर्न सकिने निष्कर्ष निकालिएको बताएका छन् । ‘जनमत त्यस्तै छ, एउटा कुनै दलको बहुमत नभएको अवस्थामा सरकारमा पुगेर जनताको सेवा गर्न सकिन्छ भने किन जोखिम नमोल्ने भन्ने भएको छ’, उनले भने, ‘यो चार वर्षमा हामीले बेथिति टुलुटुलु हेरेर बस्न सक्दैनौँ भनेको हो । गर्न बाँकी काम धेरै छन्। हामी काम गरेर देखाउँछौँ ।’
उनले देशमा धेरै धुलो रहेको पनि बताएका छन् । ‘धुलो र फोहोर धेरै छ । धेरै छिटो हिँड्नु भएको छैन लडिन्छ’, उनले भने, ‘माछा दुई किसिमका छन्, किसानका माछा र ठूलामा माछा हामीले दुवैको टेक केयर गर्नेछौँ । माछा मिठो तर खाँदा काँडा अड्किने पनि हुन्छ । त्यसैले हामीले होस गरेर यी दुवै माछाबारे काम गर्नुछ ।’ लामिछानेले जनतालाई सुशासन दिनुपर्ने बताए । ‘कानुन पल्टाउनुस् गृहमन्त्रीको आदेश चाहिँदैन । तस्कर गुन्डा र अपराधीलाई समात्न गृहमन्त्रीको आदेश चाहिँदैन’, उनले प्रहरी अधिकारीहरूलाई भने, ‘कानुनले जे भन्छ त्यही हुन्छ । बर्दी लगाएर बसेका प्रहरी अधिकारीलाई अधिकार दिएको छु ।’
उनले गलत गतिविधि गर्नेहरू कानुनको दायरामा आउने भन्दै साना, ठूला, चिल्ला, खस्रा सबै माछा पक्राउ गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले होली पर्वले जस्तै हाम्रो जीवन र समाज पनि रङ्गिन बनोस् भनेर शुभकामना दिए । उनले होली पर्वसँगै सामाजिक सद्भाव सधैँ कायम होस् भन्दै मतदाताप्रति आफू सधैँ ऋणी रहेको र ब्याजसहित फिर्ता गर्ने प्रतिबद्धता जनाए । पार्टीले सरकारमा गएको दुई हप्तामै काम गरेर देखाएको उनको भनाइ छ । ‘सरकारमा जानु हाम्रा लागि नागरिकको सेवाको अवसर हो’, उनले भने, ‘बाटो लामो छ । काम गर्न नसक्दा हामी सत्तामा टाँसिएर बस्दैनौँ, झोलामा राजीनामा पत्र बोकेका छौं ।’