अन्य प्रदेशबाट गण्डकीमा प्रवेश प्रतिबन्ध


६ बैशाख २०७७, शनिबार
gandaki pradesh

कास्की, ६ बैसाख । भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा अन्य प्रदेशबाट प्रवेशलाई सीमा नाकाबाटै निषेध गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेशमा गठित कोरोना संकट व्यवस्थापन कार्य सञ्चालन केन्द्रका संयोजक पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जारी लकडाउनको प्रदेशमा कडाइका साथ पालना गराउन सो निर्णय गरेको बताइएको छ ।

प्रदेशको एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुनसक्ने आवतजावतलाई नियन्त्रण गरी सम्बन्धित जिल्ला र स्थानीय तहमा नै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए ।

मालबहाक ट्रक वा अन्य अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधनमार्फत अन्य प्रदेशबाट लुकीछिपी आएका मानिस तथा त्यसरी यात्रु ओसारपसार गर्ने सवारी साधनलाई समेत नियन्त्रणमा राखिने भएको छ ।

प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट भइरहेको राहत वितरणकार्यलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने र राहत वितरणमा असङ्गठित क्षेत्रका मजदुर, श्रमजीवी वर्ग र न्यून आय भएका व्यक्तिलाई निष्पक्ष वितरणका लागि प्राथमिकीरण गर्ने र सोको अभिलेख राखिने भएको छ ।

जिल्ला तथा स्थानीय तहमा व्यवस्था भएका क्वारेन्टाइन गृहलाई मापदण्डअनुसार बनाउन निर्देशन दिने र आइसोलेस रूपमा तयार पारिएका कक्षलाई कोभिड क्लिनिकका रूपमा उपयोग गर्न निर्देशन दिने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी विदेशबाट आएका व्यक्तिको परिवारको र्‍यापिड डायगेनेष्टिक टेष्ट (आरडिटी) र पिसीआर परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ । मस्जिद, मदरसा, मन्दिर, गुम्बा, चर्चलगायतका धार्मिकस्थललाई पूर्णत बन्द गर्ने तथा साँझ बिहान, बजार क्षेत्रमा किनमेलका क्रममा हुने भीडभाडलाई कडाइका साथ अनुगमन र नियन्त्रण गर्ने, नाकाबाट प्रवेश गर्ने सवारी साधनलाई ‘डिसइन्फेक्सन’ गर्न स्प्रे गर्ने र चालकको आरडिटी परीक्षणको व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

एचआइभी संक्रमितलाई घरघरमै औषधि
यता दमौली बन्दाबन्दीका कारण औषधि लिन जान समस्यामा परेका तनहुँका एचआइभी सङ्क्रमितलाई तनहुँ सहयोगी समूहले घरघरमै औषधि वितरण शुरु गरेको छ ।

एचआइभी सङ्क्रमितको अधिकारका लागि काम गर्ने उक्त संस्थाले बन्दाबन्दीका कारण प्रभावित उनीहरुलाई घरमै पुगेर एन्टिरेट्रोभाइरल (एआरभी) औषधि वितरण शुरु गरेको हो ।

दैनिकरूपमा नियमित सेवन गर्नुपर्ने उक्त औषधि सकिएका सङ्क्रमितलाई सहज होस् भनेर सङ्क्रमितको घरमै पुगेर औषधि वितरण भइरहेको संस्थाका अध्यक्ष श्रीराम कँडेलले जानकारी दिए । ‘बन्दाबन्दीले सवारीसाधन नचल्दा एचआइभी सङ्क्रमितलाई समस्या भइरहेको बेला नियमितरूपमा सेवन गर्नुपर्ने औषधि घरमै पुर्‍याउने व्यवस्था मिलाएका छौैं’, उनले भने ।

एचआइभी सङ्क्रमितलाई औषधि पुर्‍याउनका लागि संस्थाले जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरिरहेको छ । कतिपय ठाउँमा भने स्वास्थ्य कार्यालयले स्वास्थ्य चौकीसम्म पु¥याई दिने र त्यहाँबाट एचआइभी सङ्क्रमितले औषधि लिने गरेका छन् ।

जिल्लामा कूल ३१३ एचआइभी सङ्क्रमित रहेको संस्थाले जनाएको छ । बन्दाबन्दी अगाडि २०० जनाले दुई महिनाका लागि पुग्ने औषधि संस्थाबाट लिएर गइसकेका र बाँकी रहेकालाई भने घरमै पुगेर औषधि वितरण गरिने सस्थाका अध्यक्ष कंडेलले जानकारी दिए ।

उक्त औषधि नेपाल सरकारबाट निःशुल्करूपमा उपलब्ध हुन्छ । बाहिर उक्त औषधि खरिद गर्न नपाइने भएकाले संस्थाले नै जिल्लामा यो औषधि सङ्क्रमितलाई वितरण गर्ने गरेको छ । एचआइभी सङ्क्रमितले भाइरसको प्रभाव कम गर्न दैनिकरूपमा एआरभी औषधि सेवन गर्नुपर्छ । औषधि छुटे भाइरसको प्रभाव बढेर सङ्क्रमितको स्वास्थ्यमा असर पर्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७