देउवाका सबै निर्णय प्रधानमन्त्री ओलीले उल्ट्याउने !


४ फाल्गुन २०७४, शुक्रबार
PM KPoli

काठमाण्डौं, ४ फागुन : दुई दिनअघि मात्र विदा भएको शेरबहादुर देउवा सरकारले गरेका निर्णयहरु प्रधानमन्त्री केपी शर्मा ओलीले उल्ट्याउने जनाउ दिएका छन् ।

PM KPoli
जाँदा–जाँरुदै शेरबहादुर देउवा सरकारले राष्ट्रियसभा सदस्यका तीन सदस्य मनोनयनका लागि गरेको सिफारिस ओली सरकारले फिर्ता लिने भएको छ । देउवाले गरेको उक्त सिफारिस अहिले राष्ट्रपति कार्यालयमा थन्किन पुगेको छ । देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयले सो सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नुपर्ने भन्दै थन्क्याएको छ ।

संविधानअनुसार राष्ट्रियसभामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ३ जना मनोनित गर्ने व्यवस्था छ । यसअघि प्रदेशगत निर्वाचनबाट ५६ जना निर्वाचित भएर आइसकेका छन् । अब तीन जनाको मनोनयन नयाँ सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने शीतल निवास स्रोतले जनाएको छ । नयाँ सरकारले नयाँ नाम सिफारिस गर्ने एमालेका एक शीर्षस्थ नेताले जानकारी दिएका छन् । वाम गठबन्धनमा सल्लाह गरेर उपयुक्त नाम सरकारले सिफारिस गर्ने र यसअघिको सिफारिस फिर्ता लिइने उनले दावी गरे ।

चुनावपछिका सबै नियुक्ति बदर !

यसैबीच पछिल्ला चुनावपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति तथा मुलुकलाई आर्थिक भार पर्ने गरी गरिएका सबै निर्णयहरु वाम गठबन्धनको सरकारले एकमुष्ठ रुपम खारेज गर्ने भएको छ । व्यवहारिक र कानुनी पक्षहरु अध्ययन गरेपछि कामचलाउ सरकारले गरेका त्यस्ता निर्णयहरु बदर गरिने एक नेता बताउँछन् । कतिपय नियुक्ति ब्याकडेटमा समेत गरिएको भन्दै चुनावको आचारसंहिता लागेयता गरिएका नियुक्तिहरु बदर हुने प्रधानमन्त्री निकट एक एमाले नेताले बताएका छन् ।

चुनावपछि देउवा सरकारले बिभिन्न मन्त्रालय अन्तर्गत दर्जनौं राजनीतिक नियुक्तिहरु गरेको छ । सरकार छाड्ने दिन पनि स्वास्थ्य सेवा विभाग लगायत विभिन्न ठाउँमा नियुक्ति गरिएको छ । सरकारले एक–एक गरेर नियुक्तिहरु बदर गर्दा कतिपय अवस्थामा अदालतबाट पुनर्वहाली हुने गरेकाले संसदबाट संकल्प प्रस्ताव पारित गरेर एकमुष्ठ बदर गर्ने बारेमा समेत छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७