दीपक मनाङेले लिए मन्त्री पदको शपथ


१६ बैशाख २०७८, बिहीबार
Deepak manange 1

पोखरा, १६ बैसाख । गण्डकी प्रदेश सरकार जोगाउन एमालेले दीपक मनाङेलाई मन्त्री बनाएको छ । दीपक मनाङे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ प्रदेशको युवा तथा खेलकुद मन्त्री पदको शपथ लिएका हुन् ।

बिहीबार मनाङेले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिएका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय थपेर मनाङेलाई मन्त्री बनाएका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालयलाई फुटाएर मनाङेलाई खेलकुद मन्त्री बनाएका हुन् । यसअघि गुरुङ नेतृत्वमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका थिए ।

भूमि व्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व माओवादीले गरेका थिए । २०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए । तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए । मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार ४१० मत ल्याएर स्वतन्त्र उम्मेद्वारमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए ।

निर्वाचित भए पनि अरु प्रदेश सभा सांसदले सँगै उनले सपथ लिन पाएका थिएनन् । बरु प्रहरीले उनलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा २०७५ वैशाख वैशाख ६ गते पक्रेको थियो । १० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिर बसेरै लड्न मिल्ने व्यवस्था अुनसार २०७५ पुस ६ गते उनी छुटेका थिए ।

Deepak manange

सपथका लागि सोही वर्षको पुस ११ गते निवेदन दिए पनि लामो समयपछि अर्थात निर्वाचन सम्पन्न भएको १४ महिना पछि मात्र उनको सपथ भएको हो । २०७५ माघ १४ गते मात्रै उनलाई प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई प्रदेश सभा सदस्यको सपथ दिलाएका थिए ।

२०६१ पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोग राजीवमाथि थियो । पुनरावेदन अदालत पाटनले २०६९ मा उनलाई ५ वर्ष जेल सजाय तोकेको थियो । त्यतिबेला फरार उनले पछि मुद्दा ब्युँतिँदा सपथ खान पाएका थिएनन् ।

पुनरावेदनको सजाय सच्च्याउन उनले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । तर पुनरावेदनकै सजायलाई सर्वोच्च अदालतले २०७४ माघमा सदर गरेपछि उनी भूमिगत भएका थिए । तर २०७५ वैशाख ७ गते उनलाई प्रहरीले पक्राउ गर्‍यो । नयाँ फौजदारी संहिता अनुसार १० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने हुँदा मनाङे गत पुस ६ गते छुटेका थिए ।

प्रदेश सभाको अर्थ तथा विकास समिति सदस्य समेत बनेका राजीवले २०७७ असोज ८ गते उक्त समितिबाट राजीनामा गरेका थिए । शुरुआती दिनमा राप्रपासँग निकट उनी कुनै बेला कांग्रेस समेत भएका थिए । गुरुङ २०७४ असोजमा एकाएक एमाले छिरेका थिए । तर एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्र हैसियतमा उम्मेदवार बने, पछि एमालेले समर्थन गर्‍यो, अनि चुनाव जिते । २०७६ असार २० गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए । तर नेकपाले पार्टी प्रवेश गराएको पत्र संसदमा नदिएकैले राजीवले आफूलाई स्वतन्त्र बताउँदै आएका थिए ।

मनाङे मन्त्री भएसँगै गण्डकी प्रदेश सरकारको पक्षमा २८ मत पुगेको छ । ६० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ३१ सांसद्को मत आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद रहेका छन् ।

बुधबार हुने भनिएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा राजीव गुरुङ उपस्थित भएका थिएनन् । उनीसहित राष्ट्रिय जनमोर्चाको सांसद् खिमविक्रम शाही अनुपस्थित भएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित नहुने भएपछि जनमोर्चाले संसद् बैठक स्थगित गर्न माग गर्दै सभामुखलार्ई पत्र बुझाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७