भुईंमा मोवाइलले काम नगरेपछि अनलाइन कक्षा लिन रुखमै डेरा


२६ भाद्र २०७८, शनिबार
online class from treee v1dUHhDD71

खोटाङ, २६ भदौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरले अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागी भइरहेका छन् । उनले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदै आएको बताए ।

online class from treee 1 YHdlsPwezy

अनलाइन कक्षा सञ्चालन भइरहेका बेला उनी रुखमा रहेको डेरामा बस्छन् । विद्यालयले २४ साउनदेखि अनलाइन कक्षामार्फत पढाइ शुरु गरेको छ । तर, नवलपुर सिम्लेमा मोबाइलबाट खासै इन्टरनेट चल्दैन । डाटा बल्लतल्ल कनेक्ट हुन्छ । कनेक्ट भइहाले जुम मिटिङमा ज्वाइन हुन सम्भव थिएन ।

त्यही कारण उनी ८-९ दिनसम्म अनलाइन कक्षामा सहभागी हुन सकेनन् । पढाइ छुट्न थालेपछि उनले जुक्ति निकाले । ‘घरभन्दा माथिमाथिका डाँडामा निस्केर प्रयास गरें तर कनेक्सन राम्रो देखिएन । एउटा रुखको फेदमुनि बसेर चेक गरें । त्यहाँ कनेक्सन राम्रो देखायो । रुखमा चढ्दा अझ राम्रो कनेक्सन होला भनेर रुखमा चढें । अझ राम्रो कनेक्सन देखायो । जुम मिटिङमा जोडिन सफल भएँ,’ मगरले भने, ‘रुखमै चढेर दुई दिन अनलाइन क्लासमा सहभागी बनें । दिनभर रुखमा बसेर क्लासमा सहभागी हुन कठिन भएपछि रुखमै बस्ने डेरा बनाएको हुँ ।’

online class from treee 2 V9oUWHfM3n

छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगावले हर्षित बनाएको सरस्वती माविका निमित्त प्रधानाध्यापक नवीन चाम्लिङले बताए । सरस्वती माविमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ । ३ असोजबाट भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्ने निर्णय हलेसी तुवाचुङ नगरपालिकाले गरिसकेको छ । १६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुन् । उनका भाइ नयन कक्षा ८ मा पढ्छन् । उनीहरु आमासँग बसिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७