माओवादी अरु जस्तो होइन भन्ने सावित गर्नुछ : प्रचण्ड


१८ कार्तिक २०७८, बिहीबार
Prachanda 2

काठमाडौं, १८ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको रणनीति लागू गर्न माओवादी केन्द्रलाई क्रान्तिकारी पार्टी बनाई छाड्ने संकल्प पार्टीले लिएको बताएका छन् ।

आज (बिहीबार) नेपाल संवत् ११४२ तथा नेपाली चाडपर्वको उपलक्ष्यमा नेवा : मुक्ति मोर्चाले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले त्यस्तो संकल्प लिएको बताएका हुन् ।

‘हामीले फेरि एक पटक उत्पीडित वर्ग समुदायका मुद्दा र समाजवादी क्रान्तिको रणनीतिलाई लागू गर्न नयाँ ढंगको क्रान्तिकारी पार्टी बनाइ छाड्ने संकल्प गरेका छौ । त्यसको निम्ति जरुरी पर्छ भने जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने संकल्पमा पार्टी छ’, प्रचण्डले भने, ‘हामीलाई विश्वास छ, सबै उत्पीडित वर्ग समुदायले फेरि एकचोटी पार्टीले लिएको नयाँ संकल्प र पार्टीलाई समाजवादी क्रान्तिको दिशातिर लागिछाड्ने प्रतिबद्धतामा साथ, समर्थन र सहयोग रहन्छ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पछिल्लो समय पहिचान र अधिकारका मुद्दा शिथिल हुन थालको स्वीकार्दै माओवादीले पनि त्यस्ता मुद्दा छोड्न थालेको हो कि ? अरु पार्टी जस्तै बन्ने हो कि भनेर जनतामा चिन्ता पलाएको आफूले महसुस गरेको बताए ।

उनले पहिचान र अधिकारको आन्दोलन शिथिल भएको बुझेर नै पार्टी बैठकबाटै राज्यका निकायमा महिला, दलित, युवा लगायतलाई प्राथमिकता दिएको बताए । ‘त्यही निर्णयअनुसार ६ जनामा ३ जना महिला मन्त्री बनाएको हो हामीले । पहिला गल्ती भयो भनेर रियलाइज भएपछि’, प्रचण्डले भने ।

प्रचण्डले माओवादी पहिचानका मुद्दामा शिथिल हुनुमा विचारधारामा छलफलको कमी र वैचारिक अस्पस्टताले भन्दै माओवादीले विचारलाई परिमार्जन गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताए । ‘माओवादी अरु पार्टी जस्तो होइन भन्ने सावित गर्नुछ । शिथिल हुँदा प्रतिक्रियावादीले कसरी टाउको उठाउँदा रहेछन् भन्ने देखियो, परिवर्तन उल्ट्याउन र प्रतिक्रान्ति गर्न खोज्दा रहेछन् । त्यो देखेर हामी झस्क्यौं र सडकमा पनि गर्‍यौं’, प्रचण्डले संसद विघटनपछिको घट्ना स्मरण गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७