१२ वर्षमाथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजरको पहिलो डोज


२५ कार्तिक २०७८, बिहीबार
pfizer1627480571

काठमाडौं, २५ कात्तिक । सरकारले १२ वर्षमाथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजरको पहिलो डोज खोप लगाउने भएको छ । ४ मंसिरसम्म सात दिन पहिलो डोज लगाउनेलाई २७ मंसिरदेखि २ पुससम्म दोस्रो डोज दिने तालिका छ ।

गत ८ कात्तिकमा कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट आएको एक लाख ६ सय २० डोज खोप तोकिएका दीर्घरोगीलाई आइतबारदेखि लगाउन थालिने स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. सागर दाहालले बताए ।
उनका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका र जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका बिरामीले फाइजरको खोप पाउने छन् ।

त्यस्तै, फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, मस्तिष्क वा मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका र रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई पनि यो खोप लगाइन्छ । यस्ता करिब ४५ हजार नागरिकलाई उक्त खोप दिने गरी योजना बनाइएको छ ।

खोप दिन देशभरका २४ वटा अस्पताल तोकिएको छ । लक्षित दीर्घरोगीले खोप लगाउन जाँदा उपचार गराइरहेको अस्पताल वा चिकित्सकले जारी गरेको उपचारसम्बन्धी पुर्जा अनिवार्य लैजानुपर्ने नियम राखिएको दाहालले बताए । खोप सञ्चालन हुने अस्पतालबाट कम्तीमा दुईजना स्वास्थ्यकर्मी तोकिने छ । यसअघि कोरोनाविरुद्धको खोप अभियानमै संलग्न स्वास्थ्यकर्मी छनोटमा पर्नेछन् । सम्बन्धित अस्पतालबाट जनशक्ति व्यवस्थापन गर्न असम्भव भए खोप केन्द्र नजिकको पालिका वा वडा तहको स्वास्थ्य संस्थाबाट एक जना खोप कार्यकर्ता व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी २४ अस्पतालमा लगाइन्छ खोप
– गंगालाल हृदयरोग केन्द्र (काठमाडौं)
– शिक्षण अस्पताल (काठमाडौं)
– वीर अस्पताल (काठमाडौं)
– निजामती कर्मचारी अस्पताल (काठमाडौं)
– वीरेन्द्र सैनिक अस्पताल (काठमाडौं)
– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर)
– भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर)
– मानव अंग प्रत्यारोपण केन्द्र (भक्तपुर)
– मेची अञ्चल अस्पताल (भद्रपुर)
– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)
– कोसी अञ्चल अस्पताल (विराटनगर)
– गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान (राजविराज)
– नारायणी अञ्चल अस्पताल (वीरगन्ज)
– जनकपुर प्रादेशिक अस्पताल (जनकपुर)
– बिपी कोइराला क्यान्सर अस्पताल (भरतपुर)
– धुलिखेल अस्पताल (धुलिखेल)
– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा)
– धौलागिरि अस्पताल (बाग्लुङ)
– लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल)
– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ)
– भेरी अस्पताल (नेपालगन्ज)
– कर्णाली प्रदेश अस्पताल (सुर्खेत)
– सेती प्रादेशिक अस्पताल (धनगढी)
– डडेल्धुरा अस्पताल (अमरगढी)

कसले पाउँछन् फाइजरको खोप ?
– मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका
– मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका
– जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका
– फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका
– अंग प्रत्यारोपण गरेका
– उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका
– रोग प्रतिरोधात्मक क्षमता कम भएका
– मस्तिष्क वा मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका
(नयाँ पत्रिका दैनिकबाट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७