कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नु हुँदैन : उपेन्द्र यादव


११ मंसिर २०७८, शनिबार
Upendra Yadav

चितवन, ११ मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गर्न नहुने बताएका छन् । चितवनमा शनिबार पत्रकारहरूसँग उनले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताएका हुन् ।

अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताए । ‘कार्यपालिकाले हस्तक्षेप ग¥यो भने अन्तर्राष्ट्रिय जगतमा पनि लोकतन्त्रका लागि राम्रो मानिँदैन’, उनले भने, ‘कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नु हुँदैन । सुझाव सल्लाह दिएर यो समस्या हल होस् भन्ने कुरा अलग विषय हुन् ।’

अध्यक्ष यादवले प्रधानन्यायाधीशका विषयमा दलले भन्नुभन्दा पनि न्यायाधीश र अधिवक्ता बसेर यसको समाधान खोज्नुपर्छ भन्दै न्यायलयको आफ्नै पद्धति हुन्छ, न्यायलयमा अहिले देखिएको समस्या छिट्टै हल होस् र न्याय निरुपणको काम होस् भन्ने हाम्रो चाहना रहेको बताए । न्यायपालिका आफैं एउटा संवैधानिक व्यवस्था भएको संस्था रहेको उल्लेख गर्दै उनले राजनीतिक सत्ता र शक्तिको प्रभावबाट यो संस्था स्वतन्त्र र अलग रहनु पर्छ भने ।

‘अब चाँडै नै संसद् बोलाउनु पर्छ र यसले बिजनेस पनि पाउनु पर्छ’, उनले भने, ‘संसद् समक्ष धेरै विधेयक छन् । त्यसलाई पारित गरेर अघि बढ्नु पर्छ ।’ संसद् बोलाउने अधिकार मन्त्रिपरिषद्को कार्यक्षेत्रभित्र पर्ने भएकाले अनुकूलता मिलाएर बोलाउन सकिने उनको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७