कांग्रेस गण्डकी प्रदेश अधिवेशन : पौडेल पक्षको नाराबाजी


१६ मंसिर २०७८, बिहीबार
Gandaki Congress1638439440

पोखरा, १६ मंसिर । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका छन् । कार्यक्रम सञ्चालक कास्की कांग्रेसका निवर्तमान सभापतिले प्रदेश सभापतिका पाँच उम्मेदवारमध्ये देउवा पक्षका नेता अर्जुनप्रसाद जोशीलाई मात्र बोल्न दिएपछि विवाद भएको हो ।

जोशी बोलेपछि अन्य आकांक्षीले पनि बोल्न पाउनु पर्ने भन्दै कार्यकर्ताले विरोध जनाएका थिए । सभापतिका आकांक्षीमध्येका यज्ञबहादुर थापाले आफूहरू हार्न पाउनु पर्ने भन्दै उपसभापति गोपालमान श्रेष्ठको आलोचना गरेका थिए । श्रेष्ठले नै नियोजित रूपमा जोशीलाई मात्र बोल्ने कार्यक्रम मिलाएको उनको आरोप छ ।

‘उम्मेदवार सबैले बोल्न पाउनु पर्छ । तपाईंले जसलाई जिताउन छ, जिताउनुहोस्’, थापाले भने, ‘बीपीको आन्दोलन, कार्यक्रम चलाएको हुँ मैले, तर आज यो मञ्चले मलाई बोल्न दिएन ।’ कार्यकर्ताले श्रेष्ठलाई अर्को केपी ओली भन्दै नाराबाजी समेत गरेका थिए ।

पछि सबै उम्मेदवारलाई बोल्न दिनेगरी उद्घाटन कार्यतालिका संशोधन गरेपछि कार्यक्रम पुनः शुरु भएको छ । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला समेत उपस्थित छन् । यहाँ देउवाइतर पक्षले आफ्नो उम्मेदवार अहिलेसम्म तय गर्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७