इजरायलमा नेपाली श्रमिक पठाउन शुरु, माघ ५ गते १२५ जना जाँदै


२७ पुष २०७८, मंगलवार

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउन शुरु हुने भएको छ । आउँदो माघ ५ गते पहिलो पटक १२५ जना नेपाली श्रमिक इजरायल जाने भएका छन् । सरकारमार्फत् पहिलो पटक त्यहाँका दीर्घकालीन स्याहार केन्द्रमा केयरगिभरको तालिम गरेका सहायक कामदारहरु जाने तय भएको छ ।

सबै प्रक्रिया पुरा गरेर नेपालले उपलब्ध गराएका १ हजार ६ सय श्रमिकमध्येबाट इजरायलले १,१७५ श्रमिक छनोट गरेको थियो । तीमध्ये करिब ७ सय जनासँग करार सम्झौता भइसकेको छ । १४३ जनाको भने भिसाको प्रक्रिया पनि पुरा भएको वैदेशिक रोजगार विभागका निर्देशक एवम् इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिएका छन् । श्रमिकसँग सम्झौता भइरहेको र सोमबार मात्रै थप ५० जनाको करार सम्झौता भएको छ ।

इजरायल जानेको सूचीमा ८२१ जना महिला र ३५४ जना पुरुष छन् । इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजान लागेको हो । इजरायलसँग सम्झौता भएका र भिसाको प्रक्रिया पुरा गरेका १ देखि १२५ नम्बरसम्मका श्रमिकलाई हवाई टिकट खरिद गर्न वैदेशिक रोजगार विभागले आग्रह गरिसकेको छ । उनीहरुलाई मंगलबार दिउँसो ३ बजेभित्रमा हवाई टिकट खरिद गरिसक्न विभागले भनेको हो ।

१२५ क्रमसंख्याका श्रमिकले टिकट खरिद नगरे बाँकीले बुधबार बिहान १० बजेभित्रमा टिकट लिन सक्ने छन् । जसले पहिला टिकट लियो, उनीहरुलाई प्राथमिकता दिने विभागले जनाएको छ । इजरायल जाने श्रमिक पठाउन हवाई टिकटका लागि टेन्डर आह्वान गरिएको थिया े। टिकटमा ५९ हजार ९९० रुपैयाँ लाग्नेछ । यो दरमा सी लिंक्स होलिडेले टिकट बिक्रीको टेन्डर पाएको छ । यही कम्पनीबाट मात्रै उनीहरुले टिकट खरिद गर्नुपर्नेछ ।

इजरायल जाने श्रमिकले त्यहाँ जाँदा लाग्ने सबै खर्च आफैं तिर्नु पर्ने जनाइएको छ । उनीहरुले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैं बेहोर्नुपर्ने भएको हो । सहायक कामदारका रुपमा जाने नेपाली श्रमिकले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ । नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउने छन् ।

इजरायलको वर्तमान तलप व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ (स्थानीय १ हजार ६ सय अमेरिकी डलर) मासिक कमाइ हुनेछ ।
म्यानपावर कम्पनीहरुले बढी शुल्क लिएपछि सरकार आफैले इजरायलमा श्रमिक पठाउने सम्झौता गरेको हो । शुरुमा १,१७५ जना जाने तयारी भए पनि सरकारले थप श्रमिक पनि लैजान आग्रह गरिरहेको छ । इजरायलले सुरुमा सूचीमा भएका लगिसकेपछि अरुबारे निणर्य गर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७