रञ्चुला साउद मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता


५ बैशाख २०७९, सोमबार
kanchanpur murder

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका-७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका-७ हल्दुखालका धर्मानन्द भट्ट, वडा नं १ बाराकुण्डाका नारायणदत्त भट्ट, मुसेपानीकी कमला साउदविरुद्ध जाहेरी परेको छ । भट्टद्धय र साउद झारफुकको काम गर्छन् ।

यसैगरी स्थानीय कुवेरसिंह साउद, गौरी साउद, कमला साउद, जानकी घडाल र चक्र साउदविरुद्ध ज्यान मार्ने उद्योगअन्र्तगत उजुरी परेको छ । जाहेरी दर्ता भएसँगै घटनाको प्रहरीले अनुसन्धानको कार्य अगाडी बढाएको छ । मृतकको शव महाकाली अस्पतालमा राखिएको छ । मृतकका आफन्तले शव बुझेका छैनन् । घटनाको सत्यतथ्य जाँच गरी दोषीलाई कारबाही हुनुपर्ने उनीहरुको माग छ ।

चैत २८ गते टाउको दुख्ने समस्या देखिएपछि रञ्चुला छिमेकी कमलाको घरमा पुगेकी थिइन । त्यहाँ झारफुक गर्ने धर्मानन्द र नारायणदत्तले रञ्चुलालाई थारुको भूत लागेको बताएका थिए । दिनभर मन्त्र जप्नुपर्ने भन्दै त्यही राखेका र वैशाख १ गते भूत धपाउने भन्दै कुटपिट गर्दा रञ्जुलाको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७