मिटरब्याज पीडितमाथि प्रहरीको लाठी चार्ज : तीन जना घाइते, ४५ जना पक्राउ


२७ भाद्र २०७९, सोमबार
mitar

काठमाडौं । मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रिएका ४५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिटरब्याजीविरुद्धको मजदुर किसान संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्तासहित कम्तिमा ४५ जना पीडितलाई कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई कीर्तिपुर प्रहरी वृत्तमा राखिएको छ । आन्दोलनका क्रममा प्रहरीले पीडितलाई लाठी चार्ज, बुट प्रहार समेत गरेको थियो ।

प्रहरीको लाठी चार्जबाट तीन प्रदर्शनकारी घाइते भएका छन् । चन्द्रागिरी- १५ तिनथानास्थित टहरामा बस्दै आएका मिटरब्याजी पीडितहरुको आन्दोलन रोक्न प्रहरीले सो स्थानमा घेरा हालेको थियो । आन्दोलनकारीहरु कीर्तिपुर बजारबाट नारा जुलुस गर्दै पैदल माइतीघर मण्डलातर्फ आउँदै थिए । सो क्रममा उनीहरुलाई नयाँबजार गेट नजिकैबाट नियन्त्रणमा लिएको हो ।

मिटरब्याजीले दृष्टिबन्ध गरेको सबै जग्गा फुकुवा हुनुपर्ने, झुक्याएर पास गराएको जग्गा पीडितको नाममा फर्काउनु पर्ने, जाली तमसुक सबै च्यात्नु पर्ने, हिसाबभन्दा बढी लिएको पैसा फिर्ता गर्नुपर्ने र मिटरब्याजी पक्रेर जेल हाल्नु पर्ने पीडितको माग छ । संघर्ष समिति अध्यक्ष गुप्ताले माग पूरा नभएसम्म घर नफर्किने बताए । मिटरब्याजीको पीडा खप्नै नसकेर देशैभरीका पीडितहरु न्याय माग्न ४० दिनदेखि काठमाडौंको माइतीघरमा धर्ना बसिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७