महेन्द्रनगर जग्गा घोटाला प्रकरण : अख्तियारद्वारा ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२ कार्तिक २०७९, बुधबार
Akhtiyar

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्रको जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३७ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइली, पल्टु राना, पुष्कल चौधरी तथा मालपोत कार्यालय कन्चनपुरका तत्कालिन प्रमुख मालपोत अधिकृत र नापी कार्यालय कन्चनपुरका तत्कालीन प्रमुख नापी अधिकृतसमेत ३७ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा आरोपमा विशेष अदालतमा पत्र दायर गरेको छ ।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दोषी पाइएपछि उनीहरूविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

आयोगले २०७९ वैशाखमा ११ मा पनि सो जग्गा हिनामिना गरेको आरोपमा ६४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । महेन्द्रनगर बजार क्षेत्रको ६३८ बिगाहामध्ये ५७३ विगाहा जग्गा हिनामिना भएकोबारे अख्तियारले लामो समयदेखि छानविन गरिरहेको थियो ।

सरकारले २०३५ सालमा नगर विकास समितिलाई सो जग्गा व्यवस्थापन गर्न दिए पनि नगर विकास समितिका अध्यक्ष र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा अतिक्रण गरिएको आयोगको ठहर छ । आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू गोपाल रसाइली, पल्टु राना, पुष्कल चौधरी र सदस्य–सचिव चन्द्रप्रसाद चौधरीसहित ३७ जनालाई विपक्षी बनाएको छ । आरोपीहरुले सरकारी जग्गा बोर्ड बैठकको निर्णय बिना एकल तोक आदेशको भरमा व्यक्तिको नाममा उपलब्ध गराएको आयोगको ठहर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७