म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा


११ कार्तिक २०७९, शुक्रबार
jholunge pul
फाइल फोटो

म्याग्दी । म्याग्दी र छिमेकी जिल्ला बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गरेको हो । एक सय ७० मिटर अग्लो उक्त पुल निर्माणका लागि विसं २०७८ असोजमा थानी–हिमशिखर जेभीले रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि केदार रिजालले पुलको फाउण्डेशन, जिप, लठ्ठा तान्ने र स्टिल डेग राख्ने काम सकिएको बताउनुभयो । दायाँ र बायाँतर्फ जाली हालेर लठ्ठा कस्ने, भार परीक्षण र प्राविधिक नापजाँचको काम भने बाँकी छ ।

यसै महिनाभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माणको काम भइरहेको छ । ठेक्का सम्झौताको म्याद १० महिना थियो । लक्ष्यभन्दा करिब तीन महिना ढिला गरी पुल निर्माण सकिन लागेको हो । पुल बनेपछ एक घण्टाको बाटो पाँच मिनेटमा छोटिनाका साथै रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले बताए । रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबारलगायत गतिविधि गर्ने भएकाले पुलले सुविधा पुग्ने उनको भनाइ थियो ।

यसबाट बागलुङको पञ्चकोट र कुँडुलेमा रहेको शालग्राम सङ्ग्र्रहालय अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई सुविधा पुग्नाका साथै रत्नेचौरको खेलमैदान, श्रीलक्ष्मीहरि मन्दिर र धवलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित बुढोपोखरीको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।पुल निर्माणका लागि बानपा–४ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटालगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका थिए । यो म्याग्दीमा निर्माण भएको तीन सय मिटरभन्दा लामो तेस्रो झोलुङ्गे पुल हो ।

यसअघि रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने तीन सय ६५ दशमलव ८० मिटर लामो र एक सय ४८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको थियो । एक वर्षअघि मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने तीन सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७