गृह पालिका पुगेर आरजु देउवाको भाषण : हेलिकोप्टरमा चढेर आउन सक्नेलाई भोट दिनुस्


१९ कार्तिक २०७९, शनिबार
arju
फाइल फोटो

डडेल्धुरा । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले हेलिकोप्टरमा चढेर आउन सक्ने क्षमता भएकालाई भोट दिन आग्रह गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगै चुनावी सभामा सहभागी हुन गृह जिल्ल्ला डडेल्धुरा पुगेकी उनले गृहपालिका गन्यापधुरा गाउँपालिकामा गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने व्यक्तिलाई जिताउन आग्रह गरेकी हुन् । उनले पति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको नाम नलिइ हेलिकोप्टर चढ्न सक्नेलाई भोट दिन आग्रह गरेकी हुन् । देउवा काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर चढेर चुनावी अभियानका लागि गृह जिल्ला पुगेका छन् ।

‘यो गाउँ–ठाउँ बनाउने, यो व्यवस्थालाई अगाडि लैजाने, संविधानको रक्षा गर्ने, देशमा शान्ति र समृद्धि हुने’ उनले भनिन्’ ‘जसरी आज हामी हेलिकोप्टरमा आयौं । आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउनसक्ने क्षमता बनाउन सक्ने मान्छे छान्नुस् । कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवालाई जितानुस् ।’

आरजुले यसअघि पनि पटक पटक विवादित अभिव्यक्ति दिने गरेकी छन् । गत वैशाख ३० गते सकिएको स्थानीय तह निर्वाचका क्रममा डडेल्धुरामा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले नजितेको स्थानमा सरकारको बजेट नै नपठाउने बताएकी थिइन् ।

यस्तै धनगढी उपमहानगरपालिकामा महिलाहरुलाई सम्बोधनका क्रममा उनले वैदेशिक रोजगारीका लागि सित्तैमा मलेसिया पठाउने प्रलोभन दिएर अर्को विवादमा परेकी थिइन् । यस्तै हालै मात्र प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ताका क्रममा आरजुले डडेल्धुरावासीलाई प्रधानमन्त्री निवास बालुवाटारको ढोका सजिलै खुल्ने बताएकी थिइन् । डडेल्धुरावासीले ‘खुलजा सिमसिम’ भन्नेबित्तिकै बालुवाटारको ढोका खुल्ने भनेपछि उनी हाँसीमजाकको पात्र भएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७