गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा बाहिरी हल्ला मात्र : माधव नेपाल


२९ मंसिर २०७९, बिहीबार
madhav nepal
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन चलखेल भइरहेको भनेर बाहिर हल्ला गरिए पनि त्यसमा सत्यता नभएको दावी गरे । ‘गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन थालियो भन्ने चर्चा भएको मैले पनि सुनें, त्यो बाहिरी हल्ला मात्रै हो । त्यो चर्चाका पछाडि लाग्न जरुरी छैन’, नेता नेपालले भने, ‘तर राष्ट्रपति बनाउन राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने छैन ।’

उनले गैरराजनीतिक बौद्धिक, सामाजिक, प्राज्ञिक व्यक्तिलाई राष्ट्रपति बनाउन संविधानबाट रोकावट नभए पनि अहिले त्यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताए । ‘राष्ट्रपतिका लागि राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने होइन’, नेता नेपालले भने । अध्यक्ष नेपालले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताएका छन् ‘निर्वाचनको अन्तिम परिणाम आयोगले राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको ढोका खुल्छ । त्यसपछि सरकार गठनका लागि दलहरुले पनि केही प्रक्रिया पुरा गर्नुपर्छ, त्यो प्रक्रिया पुरा गरेर सत्ता गठबन्धन सरकार गठन गर्न लाग्छ ।’

नेता नेपालले अहिलेसम्म सत्ता गठबन्धनबीच पावर सेयरिङबारे कुनै छलफल नभएको पनि बताएका छन् । उनले सत्ता गठबनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी धेरै देखिएकाले नयाँ सरकार गठनमा केही ढिलाई हुनसक्ने पनि बताए ।

‘कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी धेरै देखिएका छन् । यस्तोमा कांग्रेसभित्रै पनि केही वर्कआउट गर्नुपर्ने हुनसक्छ, जसले नयाँ सरकार गठनमा विलम्ब हुन्छ कि भन्ने चासो पनि बढेको छ’, नेता नेपालले भने, ‘तर हामी छिट्टै गठबन्धनमा सहमति कायम गरेर अघि बढ्ने प्रयासमा छौ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७