धरानका मेयर हर्क साम्पाङले मागे कार्यपालिका सदस्यहरुको राजीनामा


१ पुष २०७९, शुक्रबार
Harka Sampang

सुनसरी । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको विवाद चर्किदै गएको छ । विवाद बढ्दै गएपछि मेयर साम्पाङले आज (शुक्रबार) कार्यपालिका सदस्यहरुसँग राजीनामा मागेका छन् । उनले आफूले भनेको नमान्ने भए राजीनामा दिएर बाटो खुला गरिदिन भनेका हुन् ।

साम्पाङले शुक्रबार उपमहानगपालिकास्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर कार्यपालिका सदस्यहरुको राजीनामा मागेका हुन् । तर गत वैशाखमा निर्वाचित भएयता कार्यपालिका बैठक बस्न नसकेको अवस्थामा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाएका थिए ।
उनीहरुले धरान उपमहानगरपालिका परिसरमै गरेको पत्रकार सम्मेलनमा कार्यपालिका बैठक बस्न नसक्नुमा मेयर साम्पाङकै दोष भएको बताए । उनीहरुले मेयरले कार्यपालिका सदस्यहरुबारे गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति समेत जनाए ।

मेयर आफूहरूबारे दिएको अभिव्यक्तिबारे आत्मालोचना गरे मात्रै बैठक अघि बढ्न सक्ने बताए । उनीहरुले मेयर साम्पाङले आफूहरुका कुरा सुन्न पनि अस्वीकार गरेर तोक आदेशले नगर चलाउन खोजेको बताएका थिए।

मेयरले स्वेच्छाचारी, तानाशाही, गैरकानुनी र गैरजिम्मेवार शैली अपनाउँदै आएको बताउँदै यस्तो अवस्थामा काम गर्ने वातावरण पनि नरहेको बताएका थिए । मेयर साम्पाङले कार्यशैली सुधारे र म होइन हामी नभनेसम्म सहयोग गर्न नसकिने बताएका छन् । मेयरले सहकार्य गर्न तयार भए आफूहरु धरानको विकासमा हातेमालो गर्न तयार रहेको उनीहरुको तर्क छ ।

धरान नगर कार्यपालिका प्रवक्ता एवम् वडाध्यक्ष सूर्य भट्टराई ’मनोज’ले मेयरले कार्यपालिका बैठक अघि बढाउनै नचाहेको बताए । उनले गैरसंवैधानिक र गैरकानुनी बाटोबाट तोकआदेशकै भरमा गरिरहेको कामको नगरकार्यपालिका जिम्मेवार नहुने पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७