सरकार बनाउन प्रचण्डले गरे राष्ट्रपति समक्ष दावी पेस


१० पुष २०७९, आईतवार
prachand bidya 20221225172527

काठमाडौं । विभिन्न सात राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएका छन् ।

१६६ जना सांसदको हस्ताक्षरसहित प्रचण्डले प्रधानमन्त्रीको दाबी पेस गरेका हुन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमाले, माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरेर एक सय ६६ जना सांसदको समर्थन रहेको छ ।

नेकपा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, राप्रपासँग १४, जनता समाजवादी पार्टी जसपासँग १२, जतमत पार्टीसँग छ र नागरिक उन्मुक्ति पार्टीसँग चार जना सांसद रहेका छन् । यी पार्टीका सांसदको संख्या १६६ जना छ ।

पत्रमा हस्ताक्षर गर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी छन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्रमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति ज्यूबाट पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न दावी पेश गर्न आह्वान भएकोमा सोही समय सीमाभित्रै प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको व्यहोरा अनुरोध गर्दछौँ ।’ पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७