लुम्बिनी प्रदेश सभा : प्रदेश प्रमुखले नै गराए सबै सदस्यलाई शपथ


१७ पुष २०७९, आईतवार
Lumbini pradesh samsad 2

दाङ । लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नव निर्वाचित सदस्यले शपथ ग्रहण गरेका हुन् । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् ।

Lumbini pradesh samsad 3

प्रतिनिधिसभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराई ज्येष्ठ सदस्यले प्रदेशसभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउने गरिएको छ ।

ज्येष्ठ सदस्य भुसालले अध्यक्षता गर्ने
लुम्बिनी प्रदेशको प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने भएका छन् । लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्य भुुसालले सभाको अध्यक्षता ग्रहण गर्नेछन् । प्रदेश प्रमुखले ६९ वर्षीय भुुसाललाई यससम्बन्धी जिम्मेवारी पत्र प्रदान गरेका छन् । भुसाल नेकपा एमालेबाट गुल्मी २(१) बाट निर्वाचित भएका हुन् । प्रदेशसभाको पहिलो बैठक आगामी सोमबार दिउँसो १ बजे बस्नेछ ।

Lumbini pradesh samsad 1

लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य छन् । जसमध्ये ५२ प्रत्यक्ष र ३५ जना समानुपातिकतर्फ निर्वाचित भएका हुन् । नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का ९ सदस्य रहेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन-तीन तथा राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक-एक प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७