रास्वपाको आज निर्णायक बैठक बस्दै, सरकारमा सहभागिताबारे के गर्ला निर्णय ?


२२ माघ २०७९, आईतवार
rabi
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णायक भनिएको बैठक आज (आइतबार) बस्दैछ । यसअघि हिजो (शनिबार) बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय गर्न नसएिको पार्टीका मुख्य सचेतक सन्तोष परियारले बताए । उनले आज बिहान साढे ११ बजे बस्ने बैठकले सरकारमा सहभागिताबारे आवश्यक निर्णय लिइने जानकारी दिएका छन् ।

शनिबार पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । पार्टीले सरकारलाई दिएको दुई दिनको समय सकिन लाग्न बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भएको हो । रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् ।

‘बैठकमा गृह मन्त्रालय मात्रै नभएर राष्ट्रपतिदेखि उपनिर्वाचनसम्मको विषयमा छलफल भयो,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने, ‘यो गठबन्धनभित्र गृह मन्त्रालय र रास्वपाको मात्रै विषय छैन, अन्य पनि छन् । कुनै निर्णयमा पुग्न सकिएन । त्यसैले आइतबार बिहान ११ बजे पुनः बैठक बस्ने गरी शनिबार रातिको बैठक स्थगित भएको छ ।’

प्रमुख सचेतक परियारका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमबारे सत्ता गठबन्धनभित्र भइरहेको संवादबारे सभापति लामिछानेले बैठकमा ‘ब्रिफ’ गरेका थिए । ‘सरकार छाड्ने–नछाड्ने भन्ने विषयमा खासै छलफल भएन, नेताहरू संवादमै हुनुहुन्छ । राजनीतिमा संवाद त बन्द गर्नु भएन,’ परियारले भने ।

शनिबारै गृह बाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई प्रस्ताव गरेका थिए । रास्वपाका सभापति रवि लामिछानेले शुक्रबार एमाले अध्यक्ष ओली र शनिबार प्रचण्डसँग छलफल गरेका थिए । छलफलमा दुबै नेताले रविलाई आफै सरकारमा नजान प्रस्ताव गरेको र गृह बाहेकको मन्त्रालय लिन पनि भनेको बताइएको छ । यसमा रविले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ फर्काएका थिए ।

तत्काल सरकारबाट बाहिरिनुभन्दा सरकारमै रहनु पार्टीका लागि पनि हितकर हुने आवाज पार्टीका बहुमत सदस्यको रहेकाले रविले शुरुमा आफू निकटकासँग आन्तरिक छलफल गरेका थिए । त्यसपछि शनिबार अबेरसम्म बैठक बसेपनि निष्कर्षविहीन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७