नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा


२६ माघ २०७९, बिहीबार
nefta

काठमाडौँ । अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११ औं संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ । आज काठमाडौंमा उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक सङ्घले आगामी जेठ १३ गते अमेरिकाको डल्लास टेक्सासमा हुने अवार्ड कार्यक्रमको घोषणा गरेको हो ।

सङ्घका अध्यक्ष पुष्कर लामाले यस अवार्ड कार्यक्रमले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन सहयोग गर्ने बताए । उनले भने, ‘नेफ्टा अवार्ड जेठ १३ गते विधिवत्रूपमा सञ्चालन हुनेछ । अमेरिकामा आयोजना गरिनुको मुख्य उद्देश्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्नु हो ।’

अवार्ड कार्यक्रमका लागि जुरीले २०७९ वैशाखदेखि चैत मसान्तसम्म रिलिज भएका चलचित्र हेर्ने काम सुरु भइसकेको उनले बताए । चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष भुवन केसीले नेफ्टा अवार्ड कार्यक्रमले अन्तर्राष्ट्रिय दर्शकसम्म पु¥याउन सेतुको काम गर्नेमा सहमति जनाए । उनले भने, ‘अमेरिकामा अवार्ड कार्यक्रम गर्नु फलामको चिउरा चपाउनु जस्तो हो । सङ्घले यो हिम्मत गरेको छ । नेपाली चलचित्रको दर्शक बढाउनका लागि यसले खेल्ने भूमिकामा बोर्डले सहयोग र सहकार्य गर्नेछ ।’

अध्यक्ष केसीले आयोजक समूहलाई शुभकामना दिँदै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ नेपाली चलचित्र क्षेत्रको विकासको बाधक भएको गुनासो गरे । उनले भने, ‘नेपाली चलचित्रको अहिलेसम्म विकास हुन नसक्नु मुख्य कारण चलचित्र ऐन, २०२६ हो । एनालगबाट सुरु भएको चलचित्र डिजिटल प्रविधिको अभ्यासमा छ तर २०२६ सालमा बनेको ऐन अहिले व्यावहारिकरूपमा प्रभावकारी छैन ।’

अध्यक्ष लामाका अनुसार अमेरिकाको डल्लास टेक्सासमा छ हजार पाँच सय क्षमता भएको हलमा कार्यक्रम आयोजना हुनेछ । यसअघि ४२ विधामा दिइने अवार्ड यसपटक केही संशोधन हुने बताइएको छ । कार्यक्रममा नेपालीसँगै बलिउड र हलिउड चलचित्रका कलाकारको सहभागिता हुनेछ । अवार्ड कार्यक्रममा नेपालको सात प्रदेशको सांस्कृतिक झलक र झाँकी प्रदर्शनी हुने आयोजक समूहले जानकारी दिएको छ । उनले आवश्यकताअनुसार ५५ देखि ६० जना नेपाली समूह जाने जानकारी दिए ।

नेपाली दर्शक धेरै भएको देशमा अवार्ड कार्यक्रम गर्दै आएको अध्यक्ष लामाले बताए । नेफ्टा अवार्ड कार्यक्रम यसअघि दुबई, हङकङ, कतार र युएईमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७