सरकारले आज यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्दै


२ फाल्गुन २०७९, मंगलवार
bh 3
फाइल फोटो

काठमाडौँ । सरकारले आज (मंगलबार) यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने भएको छ । उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मंगलबारै वार्ताको लागि पहल थालेको बताएका छन् ।

मन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीका अनुसार मन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिलाई आज बिहान साढे ८ बजे छलफलका लागि मन्त्रालयमा बोलाएका छन् । सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको श्रेष्ठको भनाइ छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मलित कार्यदल आइतबार गठन भइसकेको छ । कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको छ । ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा सडक अवरुद्ध गर्दै प्रहरीको गाडी तोडफोड र आगजनी गरेका थिए ।

उनीहरूले प्रहरीका दुई वटा भ्यान समेत जलाई दिएका थिए । माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोस्ट भत्काएका थिए । सडक डिभाइडर र चोकमा प्रहरी उभिने आइल्यान्डलगायत संरचनामा आगजनी गरेका थिए । आक्रोशित यातायात मजदुरले सोमबार साँझ नयाँ बसपार्कमा सञ्चालित ल्होत्से मलमा समेत तोडफोड गरेका थिए ।

त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो । झपडमा १७ बढी प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रदर्शनका कारण सर्वसाधारणले भने सास्ती व्यहोरेका थिए ।
माग पूरा नभएसम्म आजदेखि काठमाडौं उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७